हेल्लो नेपाल टेलिकमको लाइसेन्स खारेज «

हेल्लो नेपाल टेलिकमको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेल्लो नेपाल) प्रालिको सञ्चालन अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । कम्पनीले लामो समयदेखि बक्यौता रकम नतिरेको भन्दै प्राधिकरण सञ्चालक समितिको बैठकले हेल्लो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।
असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत ५ कात्तिकमा बसेको बोर्ड बैठकले हेल्लो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयअनुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो । कात्तिक २२ गते हेल्लो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषद्बाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले फेरि अनुमतिपत्र खारेजीको निर्णय गर्न नसक्ने स्पष्टीकरण दिएको छ । कम्पनीले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २०७६ को पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
बोर्डले दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा (३) बमोजिम अनुमतिपत्र खारेज गर्ने निर्णय भएको जनाएको छ । कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
०७६ साउनमा प्राधिकरण सञ्चालक समितिले स्याटेलाइट कम्पनीको लाइसेन्स रद्दको निर्णय गरेको थियो । दूरसञ्चार ऐनमा प्राधिकरणले लाइसेन्स रद्द गरेपछि ३५ दिनभित्र मन्त्रिपरिषद्मा पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर सो कम्पनीले पुनरावलोकनका लागि निवेदन दिएको थियो । कम्पनीले दिएको पुनरावलोकन निवेदनमाथि छलफल गर्दै २०७६ पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा पहिलो किस्ता तिर्ने र पाँच वर्षभित्र सबै रकम चुक्ता गर्ने गरी किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले प्राधिकरणमा बुझाउनुपर्ने बक्यौता रकम ५ वर्षभित्र पाँच किस्तास्वरुप भुक्तानी गर्नुपर्ने र तोकिएको समयमा भुक्तानी नभए स्वतः रुपमा लाइसेन्स रद्दको प्रक्रियामा जाने गरी निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा किस्ताबन्दीमा एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार रुपैयाँ बक्यौता रकम भुक्तानीको समय दिएको थियो । जसअनुसार कम्पनीले पहिलो किस्तास्वरुप ०७७ असार मसान्तमा २१ करोड ५१ लाख पहिलो किस्ता भने बुझाइसकेको छ । त्यसैगरी कम्पनीले दोस्रो वर्ष अर्थात् ०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख, तेस्रो वर्ष ३० करोड ८६ लाख, चौथो वर्ष २७ करोड ७४ लाख र पाँचौं वर्ष २४ करोड ६३ लाख भुक्तानी गर्ने गरी समय दिएको थियो । प्राधिकरणले यसअघि नै मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगर्दा समय थप गर्न नमिल्ने भएपछि अनुमतिपत्र नै खारेज गर्ने निर्णय गरिएको जनाएको छ । हेल्लो नेपाल अजेयराज सुमार्गीको बहुमत सेयर भएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्