पिवा-श्रमिक रोजगार सम्झौता हुँदै «

पिवा-श्रमिक रोजगार सम्झौता हुँदै

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौताको नामावली पठाएपछि पहिलो चरणमा पाँच सय नेपालीको रोजगार सम्झौता गरिने भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान स्वास्थ्य परीक्षण पास भएका युवाको नामावली गत हप्ता पिवामा पठाएको थियो । विभागले इजरायलको पिवाले केही दिनपछि पाँच सय नेपालीको स्तरीय रोजगार सम्झौताको नामावली पठाएपछि युवाले सम्झौताका लागि हस्ताक्षर गर्नुपर्ने जनाएको छ । नेपालले स्वास्थ्य परीक्षणमा पास भएकामध्ये पहिलो चरणका १ सय ५० पुरुष र ३ सय ५० महिलाको नाम पठाएको थियो । विभागले स्वास्थ्य परीक्षणका लागि छनोट भएका १ हजार १ सय ७५ मध्ये पास भएका पाँच सयजनाको नाम मंसिरको पहिलो हप्ता इजरायल पठाएको थियो । विभागका निर्देशक डम्बर सुनुवारले रोजगार सम्झौताका लागि नाम आएका युवालाई विभागमा बोलाएर सम्झौतामा हस्ताक्षर गर्न लगाइने जानकारी दिए ।
इजरायलले पठाएको सम्झौताका सर्त अनुकूल भए हेरेर श्रमिकले हस्ताक्षर गर्न सक्नेछन् । विभागले सम्झौताका लागि प्राप्त नामावलीअनुसार पाँच दिनभित्र सबैको हस्ताक्षर लिएर भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूताबास नामावली पठाउने जनाएको छ । यसैबीच सम्झौता गरेका श्रमिकको अभिमुखिकरण, श्रम सम्झौता र उडान तालिका हुने जनाइएको छ । यसैगरी शनिबार स्वास्थ्य परीक्षण सम्पन्न गरेका ६ सय ७५ युवामा रोजगार सम्झौताका लागि नामावली पिवालाई पठाउने छ ।
पिवाद्वारा नामावली पठाएका उम्मेदवारको थप प्रक्रिया अभिमुखिकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ । विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमय दरअनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ । यसका लागि जाने श्रमिकले हवाईभाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित १ लाख ६५ हजार सात सय शुल्क लाग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्