जग्गा बेचेर उपदान दिएको जडीबुटी कम्पनी नाफातिर

सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी नाफामा गएको छ । कुनै समय कर्मचारीलाई उपदान दिनसमेत जग्गा बेच्न बाध्य भएको कम्पनी तीन वर्षयतादेखि नाफामा गएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५-०७६ देखि नाफा कमाएको हो । सो आवमा कम्पनीले एक करोड ९२ लाख नाफा गरेको थियो । आव २०७६-०७७ मा कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७-०७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको तालुकदार वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये जडीबुटी कम्पनी नाफामा रहेको एकमात्र संस्थान हो । कम्पनीले आव २०७६-०७७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको छ । कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने तयारी पनि गरिरहेको छ ।
कम्पनीलाई आगामीमा दिनमा अझै मुनाफामा लैजाने उद्देश्यसहित काम भइरहेको मन्त्रालयको भनाइ छ । जडीबुटी कम्पनीको पछिल्लो समयमा वित्तीय मुनाफा धरासायी बन्दै गइरहेको थियो । नेपालमा जडीबुटीको उत्पादन, बिक्रीवितरणको सम्भावना धेरै भए पनि पछिल्लो समय कम्पनीमा राजनीतिक दलका कार्यकर्ता करारमा नियुक्ति गर्ने थलो बनेपछि झन् घाटा बढ्दै गइरहेको थियो । कम्पनीले आवश्यकभन्दा बढी कर्मचारी राख्नु, कच्चा पदार्थको अभाव, निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अगाडि आउन नसक्दा कम्पनीको आम्दानी कम र खर्च बढी देखिएकाले यस्ता कमजोरी सुधार भइरहेको वन तथा मन्त्रालयले जानकारी गराएको छ ।
जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले वि.सं. २०३८ मा कम्पनीको स्थापना भएको थियो । स्थापना भएको सुरुवातका दिनमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने घाटामा गएको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि अवकाश पाएका कर्मचारीलाई उपदान दिन कम्पनीले जग्गा बेचेको थियो । अवकाश पाएका कर्मचारीहरुलाई उपदान दिन, कच्चा पदार्थ बढाउन, प्रशोधन उपकरण थप गर्न देखिएको बजेट अभावलाई पूरा गर्न कोटेश्वरमा रहेको १३ रोपनी १४ आना जग्गा उपत्यका विकास प्राधिकरण कम्पनीलाई बेचेको थियो ।
कम्पनीलाई नाफामूलक बनाउन सरकारले रणनीति बनाएर अगाडि बढाएपछि ३ वर्षयता भने नाफा कमाउन थालेको छ । कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले उत्पादनमा वृद्धि र स्रोतसाधनको उचित प्रयोग गरेपछि नाफा कमाउन थालेको बताए । “अहिले स्वदेशमा उत्पादन भएको जडिबुटी स्वदेशमा नै खपत भइरहेको छ । विदेशमा पनि यसको माग छ । उत्पादन बढाएर हामी अझै बढी मुनाफा कमाउन सक्छौं,” उनले भने, “वार्षिक एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेका छौं ।”
हाल सरकारी निकायमात्र कम्पनीका सेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन् । अब भने सर्वसाधारणलाई पनि सेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ ।
नेपालमा करिब दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ । कार्कीका अनुसार कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ ।