सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारिताबारे श्रममन्त्रीको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी) को प्रभावकारिताबारे परियोजनाका अधिकारीहरूसँग जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले परियोजनाका कारण लक्षितवर्गले सही सूचना पाएको र कामदार तथा उनिहरूका परिवारको आर्थिक सामाजिक सुदृढीकरण र उद्यमशीलतामा पहुँच बढेको भन्दै प्रसंशा गरे ।
श्रेष्ठले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भूमिका खेल्नुपर्ने बताए ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको भन्दै उनले परियोजनाले वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सही सूचनाको अभावमा खाडीमुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिमा परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सहयोग गरेको बताए ।
परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक सूचना, परामर्श र सीप दिँदै आएको परियोजनाका टिम लिडर सीता घिमिरेले बताए ।
सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले बैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत ब्यक्ति र उनीहरूको परिवारलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।