Logo

कालोपत्रे गर्ने सडकमा न्यून श्रमिक परिचालन


आगामी चैत मसान्तसम्म कालोपत्रे गर्नुपर्ने म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडक योजनामा न्यून श्रमिकसहित ठेकेदार छ महिनापछि काममा फर्किएको छ । पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो । निर्माण कम्पनीले एक दर्जन श्रमिक र एउटा स्काभेटर मात्र परिचालन गरेको स्थानीयबासी बताउँछन् ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्ने स्काभेटर र ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाउन र नाली खन्नथालेको पूर्वाधार कार्यालय प्रमुख सन्तोष अर्यालले बताए । मजदुरमार्फत पर्खाल र नाली बनाउने काम सुरु भएको जानकारी गराउँदै निर्माण व्यवसायीलाई आगामी चैत मसान्तसम्म सिध्याउने मेसिन र जनशक्ति थप गर्न आग्रह भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र १ नमुना सडक कार्यक्रम’अन्तर्गत वि.सं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख ८ सय ३८ मा ठेक्का सम्झौता गरेको थियो । वि.सं २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीतिअनुसार २०७८ चैत मसान्तसम्म थपिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
थप गरिएको समयमा कालोपत्रे गर्नका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजीकरण गरिदिन गाउँपालिका, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति र प्रशासनलाई एपेक्स–खड्का कृष्ण जेभी निर्माण कम्पनीका इञ्जिनियर रामु कँडेलले आग्रह गरेका छन् ।
आठ किलोमिटर दूरीको सडकलाई ग्रेड मिलाई आठ मिटर फराकिलो बनाएर ५÷५ मिटर चौडाइमा कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पिप्लेको स्वास्थ्य चौकीदेखि भगवतीसम्मको पाँच किलोमिटर खण्डमा सडक विस्तार, पर्खाल र नालीनिर्माण भइसकेको इन्जिनियर राम कँडेलले बताए । बेश राख्ने सामान पायौं भने चैत महिनासम्म कालोपत्रे गरिसक्ने योजनामा रहेका निर्माण कम्पनीले पूर्वाधार कार्यालयसमक्ष प्रतिबद्धता जनाएको छ ।
गलेश्वरदेखि बगैंचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको छ । यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । सदरमुकाम बेनी आवातजावात, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी र विरामीलाई अस्पताल पु¥याउनका लागि सहज हुने वडा नम्बर २ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताए । यो सडक ट्रयाक वि.सं २०६६ मा खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्