सर्वसम्मत नेतृत्वको प्रयासमा एमाले «

सर्वसम्मत नेतृत्वको प्रयासमा एमाले

नेकपा (एमाले) को महाधिवेशनको उद्घाटन सत्र शुक्रबार नारायणी नदी किनारमा सम्पन्न भएको छ भने बन्द सत्र सौराहामा चलिरहेको छ । यतिबेला नेताहरू नेतृत्वमा पुग्न होडबाजी गरिरहेका छन् । पार्टी फुटेपछि भएको सम्मेलनले पार्टी एकताको सन्देश पनि दिनु छ । त्यसैले सकेसम्म सहमतिमै नेतृत्व छान्न पार्टी कार्यकर्ताले माग गरेका छन् ।
जारी बन्द सत्रमा नेकपा एमालेले पार्टीका पदाधिकारी छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । महाधिवेशनले कस्तो नेतृत्व छान्छ भन्ने विषयमा सहभागीसँग कारोबारकर्मीहरू विप्लव काफ्ले, विकास घिमिरे, मकरराज धामी र सन्देश पौडेलले गरेको कुराकानीको सार :

पार्टी एकता र सहमतिका लागि त्याग गर्न तयार छु
पृथ्वीसुब्बा गुरुङ
महासचिवको आकाँक्षी

म २०३४ सालदेखि सक्रिय राजनीतिमा होमिएको हुँ । सुरुमा शिक्षण पेशामा आवद्ध म त्यहींबाट राजनीतिमा सक्रिय भएको हुँ । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले म पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेको छु ।
लमजुङमा अत्यन्तै कमजोर अवस्थामा रहेको कम्युनिष्ट राजनीतिको जग बलियो बनाउन मैले बहुदलको आन्दोलनका समयमा निक्कै मिहिनेत गरेको छु । २०६४ सालको संविधानसभाको निर्वाचनमा लमजुङमा एमालेले जित्न सफल भयो ।
२०६२÷०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको जिम्मेवारी सम्हालेको थिएँ । संघीयता कार्यन्वयनसँगै गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको छु ।
मुख्यमन्त्रीका रूपमा तीन वर्ष बिताउँदा विकास निर्माणका हिसाबले देशका अन्य प्रदेशभन्दा अब्बल प्रदेश सावित गरेको छु । संघीयता कार्यान्वयनका विषयमा म कहिल्यै कमजोर बनिन । गण्डकी प्रदेशका जनताले अहिले पनि र कालन्तरसम्म सम्झने गरी काम गरेको छु । प्रदेशको अहिलेको सरकार मैले बनाएका योजनामा अडिएको छ ।
एकातिर सरकार नेतृत्वको दायित्व, अर्कोतिर पार्टीभित्रको आन्तरिक जिम्मेवारी यी दुवै कुरालाई जिम्मेवारीपूर्वक बहन गर्दै आएको छु । पार्टी एकता, संगठन निर्माण विस्तारमा मेरो भूमिका पार्टीले मूल्यांकन गर्ला ।
राजनीतिक यात्रालाई पूर्णविराम लगाउने सोच कसैको पनि हुँदैन । आफ्नो क्षमता र योग्यताअनुसार पार्टीका कुनै पनि जिम्मेवारी बहन गर्न सक्छु । म यसअघि वा अहिले केन्द्रीय कमिटीको सचिव भइसकेकाले पनि अबको मेरो यात्रा योभन्दा माथि नै हुन्छ । मेरो क्षमता र योग्यता पार्टीको महासचिव बन्न अयोग्य छैन । पार्टीको संगठन हितका लागि आफ्नो आकाँक्षा महासचिवमा हो । तर पार्टी विभाजन हुने गरी वा पार्टीमा मत बाझिने गरी एउटै पदमा सवैले दाबी गर्दा सहमति र सहकार्यमा समस्या हुन सक्छ । यसर्थ पार्टी नेतृत्वले जुनसुकै पदमा जिम्मा दिए पनि त्यसमा मेरो स्वीकार हुन्छ । पार्टी एकता र सहमतिका लागि म त्याग गर्नसमेत तयार छु ।

सहमतिबाट भए पार्टी एकताको सन्देश जान्छ
खरमाया बिटालु
महाधिवेशन प्रतिनिधि, म्याग्दी

शनिबार बेलुकासम्म पनि महाधिवेशनमा सहमतिको लागि प्रयास हुँदैछ । सहमतिमा ल्याउनका लागि अध्यक्षलगायतका नेताहरू लागिरहनु भएको छ । बन्दसत्र बाहिर बसेका नेता, कार्यकर्ताबीच सहमति हुनेमा नै ढुक्क छौं । सहमतिबाट गएमा पार्टी एकता झन् बलियो हुन्छ । सहमति नभएमा पाटी टुटफुट पनि हुनसक्छ । तर महाधिवेशनमा यदि सहमति हुन नसकेमा वा नभएमा निर्वाचन भए पनि प्रजातान्त्रिक विधिबाट नै हुन्छ । आज अबेरसम्म पनि पदाधिकारीबीच नै सहमतिका लागि कुरा नमिलेको बन्दसत्र बाहिर रहने नेता, कार्यकर्तालाई आभास भइरहेको छ ।
महाधिवेशनमा देखिएको जनसागरले देश नेकपा एमालेमय भएको पुनः पुष्टि भएको छ । केही साथीहरू पाटीबाट अलग भए पनि एमाले कत्ति पनि कमजोर भएको छैन । यसैले आगामी निर्वाचनमा एमालेको बहुमत आउनेमा म ढुक्क छु । जनमत एमालेको नै आउँछ । किनकि एमाले नै अहिले पनि ठूलो पार्टी हो र भोलि पनि ठूलो अवश्य नै बन्नेछ । पार्टीले विधान अधिवेशनमा लिएका नीति नै लागू गर्ने हो ।

ओलीको विकल्प सोच्न पनि सकिँदैन
मेघनाथ सुवेदी
गण्डकी प्रदेश सचिवालय सदस्य

नेकपा एमाले यतिबेला १०औं महाधिवेशनमा होमिएको छ । यतिबेला हामी पनि यही बन्दसत्रमा छौं । आजै नोमिनेसन र भोलि नेतृत्व टुङ्ग्याउने गरी तयारी भइरहेको छ । यसअघि हिजो राति बसेको केन्द्रीय किमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटी विस्तार गर्ने र नेतृत्व सर्वसम्मत बनाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा विभिन्न नेताहरूले उम्मेदवारी पनि घोषणा गरिसक्नुभएको छ । लोकतान्त्रिक विधिबाट हुने नेतृत्व चयन प्रक्रियामा विभिन्न पदमा आकांक्षा राख्नु अनौठो कुरा भएन । तर, अहिले नेकपा एमालेलाई चौतर्फी रूपमा घेराबन्दी भइरहेका बेला हामी आफैं मतमतान्तर र विभाजनको शैलीमा अघि बढ्नु हुँदैन । यो मुलुकको भविष्य निर्माण गर्ने पार्टी एमाले नै हो भन्ने आमनगारिकको मनमुटुमा रहेको प्रत्यक्ष उदाहरण शुक्रबारको विशाल जनसहभागिताले पनि पुष्टि गरिसकेको छ । मुलुकको विकास र समृद्धिका लागि गर्नुपर्ने थुपै्र काम अझै बाँकी नै छन् । ती कामहरू केपी शर्मा ओलीको नेतृत्वको सरकार र नेकपा एमालेले अघि बढाएका हुन् । मुलुकलाई समृद्ध बनाउन र आम मुलुकवासी नागरिकको शान्तिसुरक्षा, अमनचयन र राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि पनि केपी ओलीकै नेतृत्वमा सर्वसम्मत कमिटी निर्वाचित गर्नुपर्छ र मेरो लबिङसमेत यसैमा भइरहेको छ । अन्य तहका नेताहरूले अन्य पदहरूमा आफूभन्दा पनि पार्टीलाई केन्द्रमा राखेर जिम्मेवारी बहन गर्ने हो भने खासै समस्या आउँदैन ।

मुलुकको समृद्धिका लागि ओलीकै नेतृत्व आवश्यक
राजु पौडेल
गण्डकी प्रदेश सदस्य

नेकपा एमालेको १०औं महाधिवेशन अहिले चलिरहेको छ । म सौराहमा जारी बन्द सत्रमै सहभागी छु । बन्द सत्र सकेर नेतृत्व चयनका लागि तयारी भइरहेको छ । नेतृत्व लिनका लागि थुप्रै नेताहरू सक्षम हुनुहुन्छ । धेरैले आकांक्षा पनि देखाउनुभएको छ । अध्यक्ष पदमा पनि केपी शर्मा ओलीबाहेक अन्य नेताहरूको उम्मेदवारी पर्ने चर्चा चलिरहेको छ हामीले पार्टीको विगतका इतिहासलाई पनि हेर्नुपर्छ । तत्कालीन रूपमा माओवादी केन्द्रसँगको एकतापछि झन्डै दुईतिहाइ बहुमत पाएको पार्टी अहिले दुई पटक विभाजन भइसकेको छ । तर पनि मंसिर १० गतेको ऐतिहासिक जनसागरले एमालेको शक्ति कत्ति पनि क्षीण भएको छैन भन्ने आभास मिलेको छ । त्यसले महाधिवेशनबाट हामीले नेपालीहरूमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । त्यो महत्वपूर्ण अवसर भनेकै यही बेला हो । हामीले सबै नेताहरूको सहमति र सहकार्यबाट सर्वसम्मत नेतृत्व चयन गर्न सक्यौं भने आमकार्यकर्ता तहसम्म राम्रो सन्देश जान्छ । हामी आफंैमा जुध्नु राम्रो होईन । विपक्षीसँग जुध्नका लागि पहिला पार्टी बलियो हुनुपर्छ । अहिलेको सन्दर्भमा हेर्ने हो भने केपी ओलीबाहेकले यो पार्टीको नेतृत्व हाँक्न सक्ने देखिँदैन । हुन त पार्टीहरू पुस्तान्तरण हुनुपर्छ । यो लोकतान्त्रिक विधि हो । तर, अहिले नेकपा एमालेमाथि देखिएका चुनौतीहरूको सामना गर्न र नेकपा एमालेलाई पुनः मुलुकको पहिलो शक्ति बनाउन ओलीकै नेतृत्वमा सर्वसम्मत केन्द्रीय कमिटी गठन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो विचार हो । फेरि एमालेकै नेतृत्वमा सरकार बनेन भने सुखी नेपाली समृद्ध नेपालको नारासमेत अधुरो रहन्छ । यसतर्फ सबै शीर्ष नेताहरूको ध्यान जाओस् भन्न चाहन्छु ।

अब आउने नेतृत्वले सबैलाई समेट्नुपर्छ
भेषराज कट्टेल
प्रचार विभाग प्रमुख, धनकुटा

अहिले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चलिरहेको छ । यो महाधिवेशन एमालेका लागि खालि महाधिवेशन मात्र नभएर अहिले जुन रूपमा सबै पक्ष एमालेलाई कमजोर बनाउन लागेका छन्, त्यसलाई चिर्दै एमाले देश र जनताको पक्षमा अगाडि बढ्नुपर्ने अवस्थामा छ । साथै, नेकपा एमालेको सरकार हुँदाका बखत सरकारले गरेका राम्रा कामहरूलाई प्रचार–प्रसार गर्दै आगामी निर्वाचनमा गएर फेरि सरकारमा गई ती काम पूरा गर्नुपर्ने अधिभारा अहिले पनि नेकपा एमालेको काँधमा रहेको छ । त्यसैले पनि अहिलेको महाधिवेशनमा नेतृत्व चयनको विषय छ, यसलाई सहमतिमा टुंग्याउँदा खासै फरक पर्ने देखिँदैन । तर, अब आउने नेतृत्वले सबैलाई मिलाएर लाने खालको आउनुपर्छ ।
एमाले देशकै एक प्रमुख शक्ति पनि हो । त्यसले गर्दा उसले लिने निर्णयले आगामी राजनीतिको बाटो पनि देखाउँछ । अहिले पार्टीबाट केही नेताहरू बाहिर गएका छन्, त्यस कुरालाई समेत ध्यान दिँदै विवादभन्दा पनि सहमतिमा नेतृत्व टुंग्याउनुपर्छ । अन्य पार्टीबाट नेकपा एमालेमा आएका साथीहरूलाई पनि उहाँहरूको स्तरअनुसारको जिम्मेवारी दिनुपर्छ । त्यसले पार्टीलाई झनै बलियो बनाउँछ । पार्टीभित्र असहमति राख्ने साथीहरूलाई पनि समेटेर लानु आजको आवश्यता हो । त्यसो गरिएमा नेकपा एमाले भएर रहने साथीहरूलाई पनि सहज हुनेछ भन्ने मलाई लाग्छ । तर, नेकपा एमाले एक लोकतान्त्रिक पार्टी भएकाले पार्टी म चलाउँछु भनेर महाधिवेशनबाट आउन खोज्नेलाई रोक्नु पनि राम्रो हुँदैन । प्रतिस्पर्धाको बाटोलाई पनि खुल्ला नै राख्नुपर्छ । सहमति वा निर्वाचन जुन प्रकारबाट भए र आए पनि अबको नेतृत्वले नेकपा एमालेलाई एक ढिका राख्ने नेतृत्व आउनुपर्छ भन्ने आमकार्यकर्ताको माग छ ।

सहमतिमै नेतृत्व चयनभन्दा अर्को विकल्प छैन
करन ताम्राकार
महाधिवेशन प्रतिनिधि, डडेल्धुरा

नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबार बिहान बाट सुरु भएको छ । नयाँ नेतृत्वका लागि हुन लागेको अधिवेशन विगतका भन्दा धेरै फरक छ । अहिले नेकपा एमालेबाट केही साथीहरू अलग्ग भइसकेको अवस्थामा सम्पूर्ण राजनीतिक शक्ति एकातिर र एमाले एकातिर छ । नेकपा एमाले अहिले चौतर्फी घेराबन्दीमा भएकाले सहमतिमै नेतृत्व चयन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । तपाईंले शुक्रबार भएको उद्घाटन समारोहमा भएको कार्यकर्ताको सहभागिता देखिहाल्नुभयो । पार्टीको भावी नेतृत्वका लागि अझै पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोहोरिनुपर्छ भन्ने आम कार्यकर्ताको धारणा छ ।
यो पद त्यो पद भन्ने भएन, कुनै पदमा दाबी नगरी पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ र एमालेलाई पूर्ववत् अवस्थामा पु¥याउनुपर्छ । त्यसका लागि अहिलेको नेतृत्वमा पनि ओली नै आउनुपर्छ र सहमतिमै चयन गरेर नयाँ तवरले अगाडि जानु आजको आवश्यकता हो ।
पार्टीभित्रै नेतृत्वका आकांक्षीको संख्या धेरै छ, जसका कारण शुक्रबार राति पदाधिकारी व्यवस्थापनका लगि बैठक बसी पदाधिकारीको संख्या पनि बढाएको छ । सहमतिमै नेतृत्व चयनका लागि शीर्षस्थ नेताहरूले कसरत गरिरहनुभएको छ । दुई ठूला कम्युनिस्ट एक भएपछि देशमा ठूलो आमूल परिवर्तन हुनेमा आमजनता विश्वस्त थिए, तर त्यसको ठीकविपरीत भयो ।
अब १०औं महाधिवेशनले केही फरकपन ल्याउनेछ भन्नेमा हामी विश्वस्त छौं । अहिले आमकार्यकर्ताले पनि सहमति गर्नुपर्छ भनेर हामीलाई सुझाव दिँदै आएका छन् । हामीले पनि त्यसै विषयलाई जोड दिएका छौं ।
नेतृत्वमा धेरैको आकांक्षा भएपछि अलि कसरत गर्नुपरेको छ । सहमतिमै नेतृत्व चयनका लागि पार्टीभित्रै कसरत भएको छ । तपार्इंलाई थाहै छ, शुक्रबार राति अबेरसम्म छलफल भएर केन्द्रीय सदस्य संख्या बढाउने, पोलिटब्युरोलाई फेरि ब्युँताउने, उपाध्यक्षको संख्या थप्नेलगायतका विषयमा छलफल भएको छ । महाधिवेशन प्रतिनिधि र केन्द्रीय कमिटीले पनि यसलाई सहजै स्वीकार गरेको छ । पार्टी उपाध्यक्ष भीम रावल कमरेडले अध्यक्षमा आकांक्षा राख्नुभएको छ । यो स्वाभाविक नै हो । उपाध्यक्षपछि लड्ने भनेकै अध्यक्षमा हो । पार्टी अध्यक्षले पनि यसलाई सकारात्मक रूपमा लिनुभएको छ । तर, अध्यक्षले अहिले पार्टी संक्रमणकालीन अवस्थामा भएकाले धैर्य गर्न आग्रह गरेका छन् । रावलजीलाई कसरी कुन जिम्मेवारी दिने भन्ने विषयमा पार्टी पनि गम्भीर बन्नुपर्छ । कतिपय शीर्ष नेताहरू नेकपा माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई पनि सम्बोधन गर्नुपर्छ । अर्कातर्फ युवा नेतृत्वबाट पनि आफूहरूले नेतृत्व पाउनुपर्ने माग आउँदै गर्दा सकस पक्कै भएको हो । तर त्यति जटिल अवस्था आएको छैन । कतिपय नेताहरूबाट पार्टी जोगाउनका लागि आफूहरू पुरानै जिम्मेवारीलाई निरन्तरता दिन तयार रहेको धारणा स्पष्ट रूपमा आइसकेको छ । यसर्थ नेकपा एमालेको स्थायित्व र बलियो संगठन विस्तारका लागि सहमतिमै नेतृत्व चयन हुनुभन्दा अर्को विकल्प देखिरहेको छैन । नेतृत्व चयनका लागि लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्न सकिँदैन । तर यसो भनिरहँदा पार्टीको अस्तित्व नै मेटिने गरी प्रभाव पर्ने भएपछि त्यो आवश्यकता हो जस्तो मलाई लाग्दैन । अहिले पनि अन्य दलहरूले सहमतिमै कैंयौ अधिवेशन गरेको उदाहरण हामीमाझ ताजा छन् । तसर्थ पार्टी एकीकरण र सबल नेतृत्वका लागि एकपटक सहमतिमै नेतृत्व चयन हुनु आजको आवश्यकता देखेको छु ।

नेतृत्व र जनताबीच पुलको काम गर्छु
जमिन्द्रमान घले
केन्द्रीय सदस्यका दाबेदार

मेरो राजनीति स्कुले जीवनदेखि सुरु भएको हो । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमार्फत मैले आफ्नो राजनीति यात्रा सुरु गरेको हो । जीवनमै पहिलो पटक २०३७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भएको थिएँ । राजनीतिक चेतनाले अगाडि बढ्न प्रेरणा दियो, २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएँ ।
नेकपा एमालेको २०४९ सालमा भएको पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनदेखि लगातार १०औं महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएको छु । सोबाहेक २०५० सालमा म नेकपा एमाले जिल्ला कमिटी सदस्य भएपछि २०५१ देखि २०५४ सम्म कार्यालय सचिवको जिम्मा लिएँ । २०५५ देखि २०५८ सम्म जिल्ला कमिटीको उपसचिव भएको छु ।
२०५८ देखि २०६२ सम्म पुनः जिल्ला कमिटी सदस्य भएँ । २०६२ देखि २०६५ सम्म फेरि जिल्ला कमिटी उपसचिवको जिम्मेवारी सम्हालेको थिएँ । त्यसपछि २०६६ सालमा भएको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ । २०६९ देखि २०७३ सम्म तत्कालीन गण्डकी अञ्चल कमिटी सदस्य र २०७३ यता गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालेको छु ।
पार्टीभित्रको जिम्मेवारीबाहेक २०५४ सालमा तत्कालीन भुलभुले गाविसको अध्यक्ष हुँदै जिल्ला विकास समितिको सभापति र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भई संविधान निर्माणमा भूमिका निर्वाह गरेको छु । लामो समय जिल्लामा पार्टी नेतृत्वको अनुभव, प्रदेश कमिटीमा पाएको जिम्मेवारीले पनि अब मलाई केन्द्रीय सदस्य पदमा लड्नको निम्ती बाटो खुलेको छ । म नवौं महाधिवेशनका क्रममा पनि केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएको थिएँ । तर त्यतिबेला झिनो मतले म पराजित हुन पुँगे । केहिी नेता पद नपाए मुख बटार्ने हुन्छन्, विचलित हुने गरेका छन् तर म अहिलेसम्म पदमा रहँदा मात्तिने र नरहँदा आत्तिने गरेको छैन । पार्टीको विचार र सिद्धान्तमा मेरो निष्ठा कहिल्यै कमजोर भएको छैन ।
पार्टीमा नेताहरुको नजिक भएर मात्रै नेतृत्व हुँदैन, पार्टीको विचार र सिद्धान्तलाई कार्यकर्तामाझ पनि पु-याउनु पर्छ । मलाई गर्व लाग्छ कि म नेताभन्दा कार्यकर्ता माझ बढी भिजेको छु । नेपाली काँग्रेसको गढ मानिएको लमजुङमा लोकप्रियमतका साथ निर्वाचित भएको व्यक्ति हो म । नेताहरुको निर्देशन पालना गर्नु सबैको कर्तव्य हो तर नागरिकको समस्यालाई नेताहरूसम्म पु-याउनु र विकास र समृद्धिका लागि पुल बन्नु एउटा नेताको दायित्व सम्झेको छु ।
नेता र जनताबीच सम्वन्ध भएन भने पार्टी बलियो हुँदैन । पार्टीलाई बलियो बनाउने आधार भनकै आमजनता हुन् । पार्टीको विचार सिद्धान्तलाई कार्यकर्ता माझ पु-याउन, पार्टी संगठन विस्तार र बलियो पार्टी बनाउनम केन्द्रीय सदस्यमा दाबी गरेको हुँ । राजनीतिक यात्रामा सँधै एउटै पद ओगटेर बस्ने कुरा पनि आउँदैन यसर्थ म आफूलाई अपग्रेड गर्दै एकताबद्ध र बलियो एमाले बनाउनका लागि पनि केन्द्रीय सदस्य दाबी गरेको छु ।

प्रतिक्रिया दिनुहोस्