‘ए ’डिभिजन लिगमा मनाङ र च्यासल विजयी «

‘ए ’डिभिजन लिगमा मनाङ र च्यासल विजयी

Football.

सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासलले विभागीय टोली एपीएफ फुटबल क्लबमाथि १–० गोलको नतिजामा जित निकालेको थियो ।
प्रतिस्पर्धात्मक खेलको ४९औं मिनेटमा च्यासलका रुमेश बर्तौैलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन पर्याप्त बन्यो । राइट ब्याक कमल श्रेष्ठले दिएको पासलाई पेनाल्टी एरिया नजिकबाट प्रहार गर्दै बर्तौलाले सुन्दर गोल गरेका थिए ।
बर्तौलाको गोलसँगै दोस्रो हाफको सुरुआतमा लिएको अग्रता जोगाउँदै च्यासलले जारी लिगमा पहिलो जित दर्ता गर्यो । पहिलो खेलमा च्यासल थ्रीस्टार क्लबसँग ३–० ले पराजित भएका थियो ।
यस्तै, शनिबार नै भएको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० कै जित निकालेको छ । रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नु परेको थियो ।
विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले मनाङका पुजन उपरकोटीको कर्नरमा फरवार्ड ओलावाले आफिजलाई रोक्न सकेन । ८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।
जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको मनाङको २ खेलबाट ६ अंक छ । आइतबार हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दशरथ रंगशालमा हुने उक्त खेल साँझ ४ः ४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्