महिला–पुरुष मिश्रित मैत्रिपूर्ण फुटबल खेल «

महिला–पुरुष मिश्रित मैत्रिपूर्ण फुटबल खेल

खेलकुद प्रेमी र लैंगिक समानताका अगुवा नेपाली पत्रकारहरू र नेपाल अष्ट्रेलिया अल्मुनाई संघका सदस्यहरूले सुन्तला रंगको जर्सी लगाएर महिला–पुरुष मिश्रित मैत्रिपूर्ण फुटबल खेलमा सहभागी भएर महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त अवसरमा दर्शकहरूले हिंसा मुक्त उज्वल भविष्यको सूचक सुन्तला रंगकै पहिरण लगाएका थिए ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उपलक्ष्यमा लैंगिक हिंसा विरद्द सामूहिक आवाज उठाउन यो फुटबल खेल आयोजना गरिएको थियो । यो अभियानको यस वर्षको मूल नारा ‘विश्वलाई सुन्तला रंगमा रंगाउँः महिलाबिरुद्ध हुने हिंसा अहिल्यै अन्त्य गरौं’ भन्ने छ ।
फुटबल खेलको सुरुवात गर्दै अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले भने, ‘आमरूपमा महिला र बालिकाहरू लैंगिक हिंसाको जोखिमा हुन्छन् । समलिंगी, उभयलिंगी, ट्रान्स, इन्टरसेक्सका रूपमा आफूलाई चिनाउँदा, अपांगता हुँदा, जनजाति र जातीय अल्पसंख्यक समुदायको हुँदा, आप्रवासि र शरणार्थी हुँदा र प्राकृतिक र मानवीय संकटको अवस्थामा रहँदा महिलाहरूलाई लैंगिक हिंसाको जोखिम अझ बढ्ने गर्छ ।’
‘हामी आशा गर्छाैं यो महिला–पुरुष मिश्रीत खेलले लैंगिक हिंसा अन्त्य गर्न, लैंगिक समानताकालागि वकालत गर्न र महिलाहरूको सशक्तिकरण गर्ने कार्यमा पुरुषहरूलाई प्रोत्साहन गर्नेछ ।’
राजदूत भोल्कले पत्रकारहरू, सहभागीहरू र दर्शकहरूलाई खेलकुदमा महिलालाई प्रवर्धन गर्न र समाजमा जरा गाडेर रहेको लैंगिक अवधारणाहरूलाई परिवर्तन गर्न र खेलकुदको माध्यमबाट लैंगिक भेदभाव अन्त्य गर्न आवहान गरे ।
उक्त अवसरमा महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउनेसम्बन्धी सिड महासन्धि (सिड) संयुक्त राष्ट्रसंघीय समिति सदस्य बन्दना राणाले भने, ‘फुटबल खेलले युवा, पुरुष र बालकहरू लगाएत थुप्रै दर्शकहरूलाई प्रभावित गर्न सक्छ । यो महिला–पुरुष मिश्रित मैत्रिपूर्ण खेलले महिला र बालिकाहरू प्रति हुन भेदभावहरूको अन्त्य गर्ने समान उद्देश्य प्राप्त गर्न र सबैको अधिकार सुरक्षित हुने र कोही पनि पछाडि नपर्ने समाज निर्माणमा सहयोग गर्नेछ ।’
अखिल नेपाल फुटबल संघको सातडोवाटो स्थित खेल मैदानमा खेलिएको उक्त खेल आन्फा, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल अष्ट्रेलिया अल्मुनाई संघ र अष्ट्रेलियाली दूतावास नेपालको सहकार्यमा साथी संस्थाले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्