रुकुम प्रशासन कार्यालयमा सेवाग्राहीको भीड

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक सातायता सेवाग्राहीको चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाका लागि आउने सेवाग्राीहको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक सातायता दैनिक करिब दुई सय सेवाग्राहीको काम भइरहेको छ ।
उनका अनुसार केही वर्षयता प्रशासन कार्यालयमा यसरी सेवाग्राहीको भीडभाड भएको थिएन । कर्मचारीहरूले कार्यालय समयभन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक सातायता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० वटा नागरिकताको प्रतिलिपि लिन आउनेको तथ्यांक छ ।
त्यसैगरी राहदानीका लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नाबालक सिफारिस लिन आउनेको संख्यासमेत बढिरहेको छ ।
चाडपर्व तथा मेलाको अवसर पारेर जिल्ला बाहिरबाट आएका र जिल्लामा रहेका समेत सर्वसाधारण सेवा लिन आउने गरेकाले भीडभाड बढेको बताइएको छ । सर्वसाधारणले पालिकास्तरमा घुम्ती शिविर र पायक पर्ने स्थानमा इलाका प्रशासन कार्यालय भएमा सेवा लिन सजिलो हुने बताएका छन् ।