सडकपेटिमा जुत्ता मर्मत गरेरै मासिक ३० हजार «

सडकपेटिमा जुत्ता मर्मत गरेरै मासिक ३० हजार

भनिन्छ, जसले कर्मलाई सम्मान गर्छ, कर्मलाई जिम्मेवारीका रूपमा बहन गरेर आफ्नो जीविकोपार्जन गर्छ, लगनशील हुन्छ, कर्मप्रति बफादार हुन्छ, यस्ता मानिसहरूले जीवनमा धेरै प्रगति हासिल गर्न सक्छन् । हाम्रो मुलुक दिन–प्रतिदिन सञ्चार क्षेत्रमा फड्को मारिरहँदा मानिसहरूको दैनिकी जीवनशैली पनि फेरिँदै आइरहेको अवस्था छ । मुलुकमा धेरैभन्दा धेरै पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पोर्टलजस्ता सञ्चारका साधनले हरेक कुराका गतिविधिहरू हेर्न र सुन्न पाइयो । त्यहाँ माथि पनि स्मार्ट मोबाइल हातहातमा भएपछि संसारै मुठीमा । मुलुकमा भएको राजनीतिक व्यवस्था परिवर्तन, राजनीतिक दलहरूका तस्बिर र कार्यकर्ताहरूको माझमा सञ्चारका साधनहरूले प्रमुख स्थान पाए र दिनानुदिन सञ्चार माध्यममा पनि समाचारले यस्तै राजनीतिक दलहरूको हेडलाइनको मुख्य स्रोत पायो । तर, यस्ता समाचार जुन जनताको नजरमा कहिल्यै आएनन् र परेनन् पनि ।
सदियौंदेखि दुःख, परिश्रम गरेका ती कर्मशील हातहरूको समाचार जनताले कहिल्यै देखेनन् । ससानो पेसाबाट दुःख, परिश्रम गरेका ती कर्मशील व्यवसायीको समाचार कहिल्यै बनेन । आज म तपाईंहरूलाई यस्तो कर्मशील मानिसको वास्तविक कथा लेख्दै छु, जसले सडकमा जुत्ता मर्मत गरेर नै मासिक ३० हजार रुपैयाँ कमाउँछन् ।
सर्लाही घर भएका ठागुनी महारा विगत २८ वर्षदेखि एउटै पेसा अँगालेर आफ्नो घरपरिवारको गुजारा गर्दै आएका छन् । काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार कार्यालय नजिकैको चोकमा बसेर ठागुनी कहिले जुत्ता सिलाउँछन् त कहिले जुत्तामा पालिस लगाउँछन् । नजिकैबाट सवारी साधन आवतजावत गर्दा धेरै धूलो र धूवाँ पनि सहन्छन् उनी । ठागुनीले जुत्ता, चप्पलका साथै ज्याकेटको चेन हाल्ने काम पनि गर्छन् ।
काठमाडौंको शंखमूलमा विगत १२ वर्षदेखि बस्दै आएका ठागुनी मासिक कोठाभाडा ४ हजार ५ सय तिर्दै आएको बताउँछन् । उनी भन्छन्, “पहिले अलि सस्तो थियो भाडा, अहिले बढेर पैँतालीस सय भयो ।” गएको सुरुको लकडाउन हुँदा घरबेटीले दुई महिनाको घरभाडा छुटसमेत दिएको बताउँछन् उनी । दुई छोरा र एक छोरी रहेको ठागुनीको जेठो छोराले ओभरसियर पढेको र अर्को कान्छो छोराले ११ मा अध्ययन गरेको बताउँछन् । एकै छिनमा उनी भावुक हुँदै भन्छन्, पहिले–पहिले चोकतिर यसरी बसेर काम गर्दा नगर प्रहरी आएर दुख दिने गरेको र अहिले अलि भित्र भएकाले कहिलेकाहीँ मात्र आउँछन्, सामान तुरुन्तै उठाएर अन्तै जाऊ भन्छन् । उनी भन्छन्, “के गर्नु, बाध्यता छ । हामीजस्ता कर्म गरेर खानेलाई कसैकसैले त नराम्रो तरिकाले पनि हेर्छन् ।” कुनै–कुनै मानिसको जुत्ता मर्मत गर्दा कसैले पैसा नै नदिई जाने गरेका छन् भने कसैले काम राम्रो गर्दा लागेको दस्तुरभन्दा पनि अलि बढीसमेत दिने गरेको उनी बताउँछन् । उनी भन्छन्, “काम जस्तोसुकै भए पनि कामको सम्मान गर्न सक्नुपर्छ । कामप्रति लगनशील हुनुपर्छ । जसले काम जानेको छ, हातमा सीप छ, जसले काम मेहनत गरेर गर्छ उसले जीवनमा कहिल्यै भोको पेट बस्नु पर्दैन ।”
हो साँच्चै, वास्तवमा ठागुनीले लामो समयदेखि निरन्तर जुत्ता–मर्मत गरेर आफूले जानेको सीपलाई सानोतिनो व्यवसायमा सदुपयोग गरी आज यही सीपले घरपरिवारको गुजारा चलाएका छन् । ठागुनीजस्तै सयौं यही पेसामा आबद्ध भएका छन् । जसले अव्यवस्थित रूपमा सडकमा बसेर सानोतिनो सीप परिचालन गरी गुजारा चलाउँदै आएका छन्, उनीहरूजस्ता कर्मशील मानिसहरूलाई सरकारले उचित ठाउँको व्यवस्था गरे उनीहरूले पनि ढुक्क भएर आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने थिए कि ?

प्रतिक्रिया दिनुहोस्