सामाजिक सुरक्षा कोषमा १०.२९ अर्ब «

सामाजिक सुरक्षा कोषमा १०.२९ अर्ब

सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध भई असामयिक निधन भएका १२३ योगदानकर्ता श्रमिकका आश्रित पतिपत्नी र बुबाआमालाई १ करोड १३ लाख रुपैयाँ सामासजिक सुरक्षा रकम भुक्तानी दिइएको छ । कोषले योगनकर्ताका लागि विभिन्न चार योजना सञ्चालनमा ल्याएका मध्ये आश्रित परिवार कोष अन्तर्गत सो रकम भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले नयाँ युगको सुरुआतका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गर्दासम्म कोषमा हालसम्म १० अर्ब २९ करोड रुपैयाँ योगदान रकम संकलन भएको जानकारी दिए । जसमा गत लकडाउन अवधि (जेठ र असार महिना) को नेपाल सरकारवाट योगदान रकम प्राप्त हुन बाँकी छ ।
२०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो । “कार्यान्वयनमा आएको छोटो समयमै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सामाजिक संरक्षण प्राप्त गर्न थालेका छन्,” कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने, “कोषमा हालसम्म १५ हजार ८२४ रोजगारदाता एवं २ लाख ९५ हजार ६२२ श्रमिक कोषमा आबद्ध भएका छन् ।” कोषमा आबद्ध योगदानकर्तामध्ये हालसम्म ६ हजार ४५० योगदानकर्तालाई ७ करोड १६ लाख ८५ हजार औषधि उपचार, १९१ योगदानकर्ताको दुर्घटनाबापतको ६० लाख ५८ हजार उपचार खर्च भुक्तानी गरिएको छ ।
योगदानकर्ता श्रमिकका लागि कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा र बृद्धा अवस्था सुरक्षा ४ योजनाबाट श्रमिकले लाभ लिइरहेको जनाएको छ ।
कोषले मृतक योगदानकर्ताका आश्रित परिवारलाई मासिक २० लाख ६५ हजार पेन्सन भुक्तानी गर्दै आएको कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । योगदान रकम संकलन सुरुवाती दिनदेखि नै प्रविधिको प्रयोग गरी योगदान संकलनदेखि अवकाश तथा पेन्सन भुक्तानीलाई अनलाइन बनाइएको कोषले जनाएको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका युवा, स्वरोजगार, असंगठित क्षेत्रमा कार्यरत, सरकारी करार, ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रुपमा सामाजिक सुरक्षा योजना सुरु भएको उल्लेख गर्दै सामाजिक सुरक्षा कार्यविधिलाई समयसापेक्ष सुधार गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयनमा केही व्यावहारिक कठिनाइहरु देखिए पनि सुधार गदै लैजान सकिने बताए । कोषका कार्यकारी निर्देशक ज्ञवालीले पनि सामाजिक सुरक्षा योजना कार्यविधिको दोस्रो संशोधन गरी योगदानकर्ता मैत्री बनाउदै लगिएको जनाएको जानकारी दिए । योगदान रकम संकलन शुरुवाति दिनदेखि नै प्रविधिको प्रयोग गरी अनलाइन गरिएकोमा यस वर्ष देखि सुविधा भुक्तानी अन्तर्गत अवकास तथा पेन्सन भुक्तानी पूर्णरुपमा अनलाइन गरिएको छ । औषधि उपचार एवं दुर्घटनाको भुक्तानी स्वचालीत प्रणालिबाट अस्पताललाई नै भुक्तानी गर्ने कार्यको प्रणाली तयार भैसकेकोले कोषसँग सम्झौता भएका सातै प्रदेशका १ सय १० वढी अस्पतालसँगको समन्वयमा कार्यान्वयनमा ल्याइने छ ।

प्रतिक्रिया दिनुहोस्