शिक्षा क्षेत्रको सुधारमा चौबीसे गाउँपालिका «

शिक्षा क्षेत्रको सुधारमा चौबीसे गाउँपालिका

मेरो पालिका
प्रदेशः १
जिल्ला -धनकुटा
गाउँपालिका – चौबीसे
अध्यक्ष – खजिन्द्र राई
उपाध्यक्ष – यज्ञकुमारी रुचाल
प्रमुख प्रशासकीय अधिकृत – जितमान जिमी
जनसंख्या – १९ हजार २ सय ८३
क्षेत्रफल – १४७.६ वर्ग कि.मि.
बसोबास – आदिवासी जनजाति, क्षेत्री, ब्राह्मण, दलित, अल्पसंख्यक आदि


निर्वाचित भएपछि गाउँपालिकाको विकासलाई अगाडि बढाउने छलफलसहित काम थालेका हौं । त्यस बेला भौतिक विकासलाई प्राथमिकता दिने निष्कर्ष निकाल्यौं । यस्तै शैक्षिक क्षेत्रको पनि सुधार गर्ने काम थालियो । त्यसका लागि सामुदायिक विद्यालयको सुधार गरेका छौं । विद्यालयको भौतिक पक्षका साथै शिक्षाको गुणात्मक सुधार गरियो । हामीले भौतिक पक्षको सुधारसँगै शिक्षाको गुणस्तरमा समेत धेरै सुधार गरेका छौं । गाउँपालिकाभित्र भएका सबै विद्यालयमा बालकक्षा सञ्चालनमा ल्याएका छौं । विद्यालयहरूमा दरबन्दी थप्ने, प्राविधिक धारका विषयहरू पढाउने, अंग्रेजी माध्यमबाट समेत सामुदायिक विद्यालयहरूमा पठनपाठनको व्यवस्था मिलाउनेलगायतका काम गरेका छौं, गाउँपालिकाबाट सेवासुविधा लिने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्छ भन्ने कुरालाई हामीले व्यावहारिक रूपमा कार्यान्वयन गरेका छौं ।
विद्यालयहरूमा शौचालयहरूको व्यवस्थापनका कामसमेत भएका छन् । निष्कर्षमा भन्नुपर्दा चौबीसेमा शिक्षा क्षेत्रमा धेरै काम भएका छन् । अब यसको नतिजा देखिँदै जानेछ भन्ने कुरामा हामी विश्वस्त छौं । शिक्षाजस्तै हामीले स्वास्थ्य क्षेत्रको विकासलाई पनि प्राथमिकता दिएका छौं, सातवटा स्वास्थ्यचौकी र पाँचवटा सामुदायिक स्वास्थ्य एकाइबाट हामीले सुलभ फार्मेसी सञ्चालन गरेका छौ, गाउँपालिकाको आन्तरिक लगानीमा ल्याब सञ्चालनमा ल्याएका कुरासमेत म राख्न चाहन्छु । त्यस्तै गाउँपालिकाभित्रका नागरिकलाई सेवा दिनका लागि एम्बुलेन्ससमेत सञ्चालनका रहेको छ । गाउँपालिकाको पहलमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविरहरू पनि हामीले सञ्चालन गरिरहेका छौं । ‘आमालाई खाना र शिशुलाई नाना’ कार्यक्रम हामीले सञ्चालन गरिरहेका छौं । यसले धेरै महिला दिदीबहिनी र शिशुहरूलाई राहत भएको छ भन्ने हाम्रो बुझाइ छ । गर्भवती महिला भएको घरमा हरियो झन्डा राख्ने कार्यक्रमसमेत हाम्रो छ । भौतिक पूर्वाधारको कुरा गर्ने हो भने हामीले गाउँपालिकाका सबै स्थानमा सडक सञ्जाल पु-याएका छौं ।
साथै यी सडकहरूको दिगो व्यवस्थापन अर्थात् १२ महिना कसरी सञ्चालन गर्न सकिने गरी हामी स्तरोन्नति गर्ने कार्य गरिरहेका छौं । विभिन्न समूहको भवन निर्माण, संग्रहालय निर्माण गरेका छौं । अन्य पूर्वाधार विकासका काम पनि भइ नै रहेका छन् । सेवा र भौतिक विकास मात्र नभएर हामीले उत्पादनतर्फ पनि काम गरिरहेका छौं । फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र घोषण गरेरै काम भइरहेका छन् । एभोकाडो, कागतीका बिरुवा वितरणजस्ता कृषकहरूलाई अनुदानका कार्यक्रम पनि हामीले सञ्चालन गरेका छौं । कृषकलाई खेती गर्दा लागत घटाउनका लागि आधुनिक सामग्रीहरू वितरण गरिएको छ । घुम्ती कोष सञ्चालन गर्ने कृषक समूहहरूलाई हामीले सहयोग गरेका छौं । पशुपालनतर्फ पनि कामीले काम गरि नै रहेका छौं । बाख्रापालन, गाईपालन, बंगुरपालन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेका छौं । ५० प्रतिशत किसानको लगानी र गाउँपालिकाको ५० प्रतिशत लगानीमा पशुबिमा कार्यक्रम पनि सञ्चालन गरेका छौं यस कार्यक्रमले किसान लाई धेरै नै सहयोग पुगेको छ । नस्ल सुधारका कार्यक्रम ल्याएर पशुपालनमा उत्पादन बढाउनका लागि पनि किसानलाई हाम्रो सहयोग छ । बाँझो जग्गालाई कसरी व्यवस्थापन गर्न सकिन्छ र किसानले समेत बाँझो छोडेका जग्गालाई उपयोग गर्न र त्यस्ता जग्गाबाट केही न केही आयआर्जन गर्नका लागिसमेत काम गरेका छौं । हाम्रो गाउँपालिकाभित्रका ठूला वडाहरूमा वडा सम्पर्क कार्यालय स्थापना गरेर र हप्ताको दुुई दिन वडाबाट प्राप्त सबै प्रकारका सेवा प्राप्त गर्ने व्यवस्था पनि हामीले मिलाएका छौं । समग्रमा भन्नुपर्दा हामीले सबै पक्षमा देखिने र अब चाँडै नतिजा आउने काम गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्