हुम्लामा खाद्यान्न अभाव, सुर्खेत गोदाममा धान्न नसकिने चाप «

हुम्लामा खाद्यान्न अभाव, सुर्खेत गोदाममा धान्न नसकिने चाप

सुर्खेत – हुम्लामा खाधान्न अभाव भइरहँदा कम्पनीको सुर्खेतस्थित प्रादेशिक गोदाममा भने क्षमताले धान्न नसक्ने गरी खाधान्न थुप्रिएको छ ।
हुम्ला लगायतका हिमाली जिल्लामा समयमै ढुवानी नहुँदा सुर्खेतस्थित गोदाममै खाद्यान्न थन्किएको हो । कम्पनीको सुर्खेतस्थित प्रादेशिक गोदाममा पाँच–पाँच हजार क्वीन्टल क्षमताका दुईवटा र १० हजार क्वीन्टल क्षमताको एकवटा गोदाम गरी २० हजार क्वीन्टल खाधान्न भण्डारण गर्नसक्ने क्षमता छ । गोदाममा अहिले ११ हजार क्वीन्टल मौजुदा छ । थप पाँच सय क्वीन्टल खाधान्न एक दुई दिनमा ल्याइपु-याउने तयारी छ ।
बाहिर शाखाहरूबाट सुर्खेतमा खाधान्न आइराख्ने र हिमाली जिल्लामा पठाउन नसक्दा भण्डारण क्षमताले धान्न नसक्ने अवस्थामा खाधान्न रहेको कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी वासुदेव रिजालले बताए । ‘बाहिर शाखाहरूबाट सुर्खेतमा आइरहने र यहाँबाट बाहिर जिल्लामा पठाउन नसक्दा सुर्खेतमा धान्न नसकिने चाप छ,’ रिजालले भने‘हवाई माध्यमबाट मात्र होइन सडकबाट पठाउने खाद्यान्न पनि ढुवानीकर्ता ठेकेदारले समयमै नउठाउने समस्या छ ।’
हिमाली जिल्ला खाधान्न आपूर्ति गर्नका लागि कम्पनीले सरकारबाट अनुदान पाउने गरेको छ । तर, समयमै ढुवानी नगर्दा गोदाममा खाधान्न थन्किने अनि सम्बन्धित ठाउँका नागरिक भोकै वस्नुपर्ने अवस्था छ । अहिले सडक मार्गबाट नजोडिएको हुम्लामा खाधान्न अभाव भएको छ । हुम्लामा कम्पनीले चालू आर्थिक वर्षको सुरुदेखि नै खाधान्न पठाएको छैन् । कम्पनीले निजी कम्पहरूबाट खाधान्न ढुवानी गर्दै आएको छ ।
ढुवानीकर्ता छनौट गर्दा कम्पनीको माथिल्लो तहका कर्मचारीहरूले आर्थिक लाभको मौका हेर्दा हरेक बर्ष ढिलाई हुने गरेको छ । कर्मचारीलाई पैसाको विटो बुझाएर टेन्डर पाएका ढुवानीकर्ता ठेकेदारहरूले पनि समयमै ढुवानी नगर्ने समस्या विगतदेखि नै रही आएको हो । यस वर्ष पनि ढुवानीकर्ता छनौट गर्दा कम दर प्रस्ताव गरेको कम्पनीलाई नछानी झन्डै दोब्बर दरमा सिम्रिका एयरले हुम्लामा ढुवानी गर्ने ठेक्का पाएको छ । ठेक्का सम्झौता भएर कात्तिक २९ गतेदेखि १ गतेसम्म ३७ क्विण्टल खाधान्न ढुवानी गरेको थियो तर समिट एयरले कम बढी दररेट हालेको कम्पनी छानेको भन्दै अदालतमा मुद्दा हालेकाले १ गतेदेखि हुम्लामा ढुवानी रोकिएको सूचना अधिकारी रिजालले जानकारी दिए ।
हवाईमार्गको विकल्प नभएको हुम्लालगायतका हिमाली जिल्लाहरूमा खाधान्न पु¥याउने जिम्मा पाएको कम्पनीले हरेक बर्ष सास्ती दिँदै आएको छ । समयमा ढुवानीकर्ता छानेर खाधान्न पु-याउनका लागि कम्पनीलाई सरकारले उचित निर्देशन दिनुपर्ने सरोकारवालाहरूको सुझाव छ ।
१० गतेदेखि खाद्यान्न पठाउँछौं मुख्यमन्त्री शाही
खाधान्न अभाव भएको हुम्लाको लिमीमा कर्णाली प्रदेश सरकारले आज (शुक्रबार) खाधान्न पठाउने भएको छ ।
सेनाको हेलिकप्टरमार्फत हुम्लाको सिमकोट र लिमिमा चामल पठाउन लागेको हो । चिन सरकारले राहत स्वरुप दिएर हिल्सा नाकामा थन्किएको खाधान्न लिपिमा ढुवानीका लागि गृहमन्त्रालयले सेनाको हेलिकप्टर पठाउन लागेको छ । हिल्साबाट लिमीमा खाद्यन्न ओर्सान जाने हेलिकप्टरमा प्रदेश सरकारले सुर्खेतबाट चामल पठाउने तयारी गरिरहेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘चिन सरकारले दिएको खाद्यान्न ल्याउन नेपाल सरकारले पर्सी १० गते हिल्सा हेलिकप्टर पठाउँदै छ त्यो हेलिकप्टर जाँदाखेरी हामीले एक ट्रिप चामल पठाउने तयारी गरेका छौं,’ उनले भने‘पाँच छ ट्रिप थप चामल पठाउनका लागि पनि समन्वय भइरहेको छ ।’
हिमाली जिल्लामा खाधान्न पठाउने सरकारबाट जिम्मेवारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै खाधान्न नपठाउँदा कर्णालीका हिमाली जिल्लामा खाधान्न अभाव भएको छ । यस वर्ष हुम्लामा हवाई मार्गबाट खाधान्न ढुवानीका लागि सिम्रिका एयरले ठेक्का पाएकोमा समिट एयरले मुद्दा हालेपछि खाधान्न ढुवानी रोकिएको छ ।
ठेक्का सम्झौता भएर कात्तिक २९ गतेदेखि १ गतेसम्म ३७ क्विण्टल खाधान्न ढुवानी गरेको थियो तर समिट एयरले कम बढी दररेट हालेको कम्पनी छानेको भन्दै अदालतमा मुद्दा हालेकाले १ गतेदेखि हुम्लामा ढुवानी रोकिए हो ।
ढुवानीको विषयमा मुद्धाको छिनोफानो नलागेसम्म सेनाको स्काई ट्रकबाट हिल्सामा खाधान्न ढुवानीको व्यवस्था मिलाइने प्रदेश सरकारले जनाएको छ । ‘ढुवानीको मुद्दामा अदालते छिनोफानो नगरेम्म सेनाको स्काई ट्रकबाट ढुवानी व्यवस्था मिलाउनका लागि पनि पहल भइरहेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘सिमकोटसम्म सेनाको स्काई ट्रकबाट र त्यसबाट लिमीसम्म हेलिकप्टरमार्फत पठाउछौँ ।’

प्रतिक्रिया दिनुहोस्