श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूतको शिष्टाचार भेट «

श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूतको शिष्टाचार भेट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदुत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।
सो अवसरमा श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरूले भिसा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको चर्चा गर्दै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताए ।
नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्नुहुँदै मन्त्री श्रेष्ठले प्रस्तावित मस्यौदाप्रति आएको सकारात्मक प्रतिक्रियाका लागि धन्यवाद दिए । पछिल्लो पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दुतावासमार्फत कूटनीतिक सम्बन्ध कार्यान्वयन भइरहेको छ । युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुनसक्ने वैदेशिक रोजगारसम्बन्धी विज्ञहरूको भनाइ छ । राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । नवनियुक्त राजदूत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्