कांग्रेस १४औं महाधिवेशनः कर्णालीमा भत्कियो थानीको गढ, खड्काको वर्चश्व «

कांग्रेस १४औं महाधिवेशनः कर्णालीमा भत्कियो थानीको गढ, खड्काको वर्चश्व

सुर्खेत – नेपाली कांग्रेस केन्द्रमा शेरबहादुर देउवा र पौडेल समूह जस्तै कर्णालीमा भने महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीको समूह छ । खड्का देउवा र थानी पौडेल निकट छन् ।
यसअघि कर्णालीमा थानी समूहको गढको रुपमा चिनिन्थ्यो । यस पटक भने खड्का समूहले उक्त गढ भत्काउँदै आफ्नो बर्चश्व कायम गरेको छ । प्रदेशका दश जिल्लामध्य बिहीबारसम्म अधिवेशन सकिएका आठ जिल्ल्लामा खड्का समूहले बर्चश्व जमाएको हो । १३औं महाधिवेशनमा हुम्ला बाहेक नौ जिल्लामा थानी समूहले जिल्ला सभापति जितेको थियो । यस पटक नतिजा ठीक उल्टो भएको छ । १० मध्ये ८ जिल्लाको अधिवेशन सकिएकोमा कालिकोट बाहेक सात जिल्लामा संस्थापन समूहका उम्मेदवार जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दिपेन्द्रबहादुर शाही, हुम्लामा जयपति रोकाय, मुगुमा ऐनबहादुर शाही र रुकुम पश्चिममा प्रेम प्रकाश वली संस्थापन पक्षबाट जिल्ला सभापतिमा निर्वाचित भएका छन् । कालिकोटमा थानी पक्षका अम्मबहादुर शाही सहमतिमा सभापति चयन भएका छन् । कर्णालीका दैलेख र सुर्खेतमा दश गते शुक्रबार निर्वाचन हुँदैछ । छानिएका प्रतिनिधिका आधारमा सुर्खेतमा पनि संस्थापन पक्षकै सभापति बन्ने निश्चित छ । दैलेखमा दुवै पक्षका प्रतिनिधि हारहारीमा छानिएकाले दुबै पक्षका नेताहरुको आफूले जित्ने दाबि छ । उम्मेदवार छनौटका आधारमा को निर्वाचित हुन्छ भन्ने निर्णायक हुने देखिएको छ ।
सुर्खेतमा क्लिन स्वीप, पौडेल पक्षले उमेद्वार पाउनै मुस्किल
महामन्त्री खड्का र केन्द्रीय सदस्य थानीको जिल्ला सुर्खेतमा संस्थापन खड्का समूहले थानी समूहलाई क्लिन स्वीप गरेको छ ।
महाधिवेशन प्रतिनिधि छनौट तथा प्रदेश र प्रतिधिसभा क्षेत्रीय कमिटिमा खड्का पक्षले एकलौटी जित हाँसिल गरेको हो । दुई प्रतिनिधिसभा क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, र ५० महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा सबैमा संस्थापन समूहका उमेद्वार मात्रै निर्वाचित भएका छन् । वर्तमान केन्द्रीय कमिटिका सदस्य स्वतः प्रतिनिधि हुने प्रवाधानबमोजिम पौडेल समूहबाट सुर्खेतका थानी एक्ला प्रतिनिधि हुनेछन् । स्वतः प्रतिनिधि हुने भए पनि महामन्त्री खड्का भने चुनाव लडेका थिए ।
कार्यकर्ताबाट अनुमोदिन हुनुपर्छ भनेर चुनाव लडेका खड्का क्षेत्र नं. १ बाट अत्याधिक मतले बिजयी भएका छन् । थानी भने क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्छन् । थानी समूहबाट यसअघि जिल्ला सभापति जितेका कमलराज रेग्मी पनि यस पटक महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । थानी समूहबाट पूर्वमन्त्री शिवराज जोशी र खड्क बस्याल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा एक जना पनि निर्वाचित नभएपछि थानी समूहलाई जिल्ला सभापतिको उमेद्वार पाउनै मुस्किल हुने देखिएको छ । यसअघि सम्पन्न पालिका अधिवेशनबाट ९ वटा पालिका मध्य ८ वटामा खड्का र एक वटामा थानी समूहका सभापति चयन भएका छन् ।
खड्का र थानीबीच सुर्खेतमा लामो समयदेखि अन्तरसंघर्ष चल्दै आएको छ । थानी समूहले विगत २६ बर्षदेखि जिल्ला सभापतिसहित कार्यसमितिमा बर्चश्व कायम गर्दै आएको थियो । यसअघि निरन्तर २० वर्ष थानी समूहका स्वर्गिय तप्तबहादुर बिष्ट र पछिल्लो छ वर्ष कमलराज रेग्मीले जिल्ला सभापति चलाएका थिए । यस पटक भने खड्का समूह परिणाम उल्टाउन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्