नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल «

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजिनामा भएको बताए । उनले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको राजीनामाको माग गरेको र प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनसँग छलफल गरेर केही दिन भित्रै समस्याको समाधान गर्ने जानकारी गराएको बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेको निकास भनेको उनको राजीनामा हो, र संविधान बमोजिम जुन प्रतिनिधिसभामा रहेका दलहरुले भूमिका निर्वाह गर्नुपर्ने कुराहरु राख्यौँ । साथसाथै नैतिकता न्यायपालिकाका लागि महत्वपूर्ण कुरा छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुराहरु प्नि हामीले राख्यौँ । सम्माननीय प्रधानमन्त्री ज्यूले अहिले सत्तामा गठबन्धनको रुपमा रहनुभएका दलहरुसँग आज, भोलि नै हामी छलफल गर्छौं, र एकदुई दिनमै निकास आउँछ भन्ने हाम्रो दृष्टिकोण छ, उनको निकासको लागि बहिर्गमनको लागि हामीले जे भनेका छौँ त्यसलाई गम्भीरताका साथ लिनु भएको छ र उनले यो भन्दा अघि पनि जानकारीमा छ र अहिले पनि यहाँहरुले जनताको बारेमा बोलिरहेका कानून व्यवसायीहरुले ल्याउनु भएको विषयलाई हामी छलफल गर्छौं र निकासको लागि अघि बढ्छौँ भन्ने कुरा उनले राखेका हुन् ।’

प्रधानमन्त्रीसँगको छलफलमा सहभागि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकील र न्याायधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजिनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको संचारकर्मीहरुलाई बताए । अध्यक्ष शाक्यले प्रधानन्यायाधीशले गरेका न्यायमाथि विश्वसनीयता नभएको भन्दै प्रधानन्यायाधीशले घरबाटै राजीनामा दिनुपर्ने बताए । अध्यक्ष शाक्यले प्रधानमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री देउवाले कानून व्यवसायीहरुको कुरालाई गम्भीरताका साथ विचार गरेर पहल गर्ने प्रतिवद्धता जनाएको बताए । अध्यक्ष शाक्यले भने, ‘हामीले प्रधानन्यायाधीशले वकीलको तर्फबाट पनि विश्वास गुमाइसकेको छ, उनिहरु कोही पनि बेञ्चमा गएर बहस गर्नलाई तयार छैनन् । अरु न्यायाधीशहरु पनि उहाँसँगै बसेर न्याय सम्पादन गर्न तयार छैनन् । ’

यसअघि बिहीवार न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरेको थियो । लामो समय यता सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्