युवा लक्षित कार्यक्रम एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री गहतराज «

युवा लक्षित कार्यक्रम एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वराज गहतराजले युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् ।
युवाहरुको नाममा वर्षेनि राज्यको करोडौं रकम खर्च हुने गरेको भएपनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेकोतर्फ इंगित गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए ।
मन्त्री गहतराजले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिवी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म वृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताए । कुल जनसंख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेको बताउँदै मन्त्री गहतराजले सबै कार्यक्रमलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् ।
मन्त्रालयमार्फत युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएपनि नीतिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको उनले बताए । सरकारले युवालाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्देश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाको कमाई खाने भाँडोका रुपमा परीणत हुँदै गएको भन्दै मन्त्री गहतराजले चिन्तासमेत व्यक्त गरे ।
मन्त्रालयका औपचारिक तथा आन्तरिक बैठकहरुमा समेत उनले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीलाई निर्देशन दिँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्