विश्व व्यापार संगठनको मन्त्रीस्तरीय बैठक जेनेभामा «

विश्व व्यापार संगठनको मन्त्रीस्तरीय बैठक जेनेभामा

यही १२ देखि १७ मंसिरमा स्वीट्जरल्यान्डको जेनेभामा विश्व व्यापार संगठन (डब्लूटीओ)को १२औं मन्त्रीस्तरीय सम्मेलन हुने भएको छ । सम्मेलनमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले प्रतिनिधित्व गर्ने भएका छन् ।
हालै बसेको मन्त्रिपरिषद्को निर्णयले सचिव भट्टराईलाई सम्मेलन नेतृत्वको जिम्मा दिएको हो । मन्त्रीस्तरीय सम्मेलन भए पनि विभागीय मन्त्री नभएकाले सचिवले सम्मेलनको प्रतिनिधित्व गर्नेछन् ।
सम्मेलनमा बहुपक्षीय व्यापारलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका उपसचिव अमृत लम्सालले कोभिडले अर्थतन्त्र धरासायी भएकाले पुनःउत्थानका लागि डब्लूटीओमार्फत विकास साझेदारी निकायसँग विशेष प्याकेज उपलब्ध गराउने विषय नेपालको तर्फबाट राखिने जानकारी दिए । यस्तै, अल्पविकसित राष्ट्रहरू (एलडीसी)बाट स्तरोन्नति हुन लागेको मुलुकले व्यापारमा पाउने ड्युटी र कोटा फ्रिको विषय छलफल गरिने उनले जानकारी दिए । एलडीसी मुलुकलाई हाल दिँदै आएको सुविधामा विशेष प्याकेज उपलब्ध गराउनुपर्ने विषय सम्मेलनमा राखिने उपसचिव लम्सालले बताए । एलडीसी मुलुकले पाउने सुविधालाई लामो समयसम्म कायम राखी थप गरिने विषयमा छलफल गरिने छ ।
विश्व बजारमा स्वदेशी उत्पादनको निर्यात कसरी बढाउने, व्यापार, नेपालले पाउँदै आएको सुविधालाई निरन्तरता दिँदै थप गर्ने समग्र वैदेशिक व्यापार सहजीकरण गर्ने विषय सम्मेलनमा छलफल गरिने उपसचिव लम्सालले जानकारी दिए । डब्लूटीओ सदस्य भएका अल्पविकसित मुलुकले निर्यातमा विभिन्न सुविधा पाउने गर्छन् ।
विश्वका विभिन्न मुलुकमा बजारको पहुँच, स्वदेशी वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग, निर्यातमा बेला बेला विभिन्न खालका अवरोध आउने भएकाले अवरोध नगर्ने विषयमा समेत सम्मेलनमा छलफल हुनेछ । यस्तै प्रयोगशाला, एकीकृत भन्सार चौकी, सुक्खा बन्दरगाह निर्माणका लागि विशेष सुविधा उपलव्ध गराउने विषय सम्मेलनमा राखिने उनले जानकारी दिए ।
सम्मेलनमा एलडीसीबाट स्तरोन्नति हुन लागेका मुलुकले आफ्नो धारणा राख्ने छन् । व्यापारलाई कसरी सहजीकरण गर्ने विषयमा छलफल गरिनेछ । एलडीसीबाट स्तरोन्नति हुन लागेका मुलुकले पाउने सुविधालाई लामो समयसम्म पाउनुपर्ने विषय नेपालले सम्मेलनमा राख्नेछ । यस्तै कृषिजन्य वस्तुको निर्यातमा बेला बेला अवरोध आउने भएकाले यसलाई समाधान गर्ने विषयमा समेत छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ । नेपालबाट निर्यात हुने वस्तुको गुणस्तरमा समस्या देखाएर बेला बेला निर्यातमा अवरोध हुने गर्छ ।
सम्मेलनको क्रममा नोभेम्बर २८ मा १०औं चाइना राउन्ड टेबल छलफल हुनेछ । डब्लूटीओका सदस्य मुलुकहरू सो छलफलमा सहभागि हुनेछन् । डब्लूटीओका मन्त्रीस्तरीय सम्मेलन प्रत्येक दुई-दुई वर्षमा हुने गर्छ । डब्लूटीओको सदस्य राष्ट्र १ सय ६४ वटा छन् । सन् २००४ मा नेपाल डब्लूटीओको सदस्य पाएको थियो । डब्लूटीओका सदस्य भएका राष्ट्रहरूले विश्व बजारमा जुनसुकै मुलुकमा पनि वैदेशिक व्यापार गर्न पाउने छ । तर नेपालले सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनसँग व्यापार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्