जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्न जरुरी «

जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्न जरुरी

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्ने गरी वन क्षेत्रका ऐन तथा नियमावली संशोधन हुन आवश्यक रहेको बताएको छ ।
‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाइएको लैंगिक हिंसाविरुद्धको अभियानको अवसरमा फेकोफनले जल, जंगल, जमिनमा महिलाको समान पहुँच हुनुपर्ने माग राखेको हो । जल, जंगल र जमिनमा महिलाको समान पहुँच नभएको भन्दै यसको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्न फेकोफनले माग गरेको छ । फेकोफनले वि.सं २०५२ देखि नै प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार स्थापना र महिला समानताको पक्षमा पनि आवाज उठाउँदै आइरहेको छ ।
महिला पुरुषको सम्पत्तिमा समान पहुँच पुग्नुपर्ने बताउँछिन् फेकोफनकी अध्यक्ष भारती पाठक । “स्वामित्वको आधारमा नेपालमा रहेका तीन प्रकारका सम्पत्ति सामुदायिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिमा महिलाको समान अधिकार र पहुँच हुनुपर्दछ,” उनले भनिन्, “सामुदायिक सम्पत्तिहरू जल, जंगल, जमिनमा महिलाको पहुँच स्थापनाका लागि वन ऐन, कानुन र नियमावलीमा महिलाको अधिकार स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको छ तर यो अझै पूर्ण छैन ।”
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरुद्धमा लाग्नका लागि प्रतिबद्धतापत्र तयार गरी आगामी १९ मंसिरमा राष्ट्रिय सभा गृहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विमोचन गर्न लागिरहेको छ । लैगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान बिहीबारदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्