जनता आवास कार्यक्रमबाट घर निर्माण «

जनता आवास कार्यक्रमबाट घर निर्माण

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आवासविहीन बनेका घरपरिवारले जनता आवास कार्यक्रमको घर पाउँदा खुसी भएका छन् । सरकारले गरिब, सीमान्तकृत, दलित, लोपोन्मुख र विपन्न मुस्लिम समुदायका लागि घर बनाइदिने कार्यक्रम अनुरुप आवासको व्यवस्था गरिदिँदा खुसी भएका हुन् ।
११ वडा रहेको गाउँपालिकामा १९ घरपरिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत घर नभएका परिवारका लागि घर निर्माण गरिएको हो । सरकारी मापदण्ड र कार्यविधि अनुरुप निर्माण गरिएपछि केशरी कामीलगायतका अन्य परिवारमा खुसी छाएको छ । गाउँपालिकाले जनता आवास कार्यक्रममार्फत प्रदेश सरकारबाट आएको बजेटले घर नभएका परिवारका लागि घर निर्माण गरिदिएको बताएको छ । गाउँपालिकाका ११ वडामा कार्यक्रमको उद्देश्यअनुसार घर नभएका परिवारको पहिचान गरी १९ घर परिवारलाई प्रतिघर तीन लाख ५० हजार रुपैयाँका दरले घर बनाइदिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।
“सरकारले थालेको जनता आवास कार्यक्रमले हाल घरबारविहीन परिवारलाई सुखले आफ्नै घरमा बस्ने वातावरण बनेको छ,” उनले भने, “सोही अनुरुप रुकुम पश्चिमका ६ वटै पालिकामा पनि जनता आवास कार्यक्रममार्फत घर नभएका परिवारका लागि स्थानीय सरकारमार्फत घर निर्माण गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्