लैंगिक हिंसाविरुद्ध अभियान सुरु «

लैंगिक हिंसाविरुद्ध अभियान सुरु

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिकस्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ । यो अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०) सँगै सुरु हुँदैछ ।
महिलामाथि निरन्तर रूपमा हिंसाको घटना भइराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाइ नहुने र साथ नपाइने डरले उजुरी गर्दैनन् । ‘कहिलेकाँही यस्तो भइहाल्छ नि, एकचोटिलाई छोड्देउ’ भनेर लैंगिक हिंसाका यस्ता धेरै घटना सामसुम पारिन्छन् ।
यसैलाई मध्यनजर गर्दै जोन्टाले ‘कहिलेकाँही होइन, कहिले पनि हुँदैन’ भन्ने सन्देश दिनेगरी चारवटा सर्ट फिल्म बनाएको छ । यी सर्ट फिल्मले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनु हुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले जानकारी दिइन् । उनले भनिन्, “हामी आशा गर्दछौं यी भिडियोले पीडितलाई सहयोग माग्न हौसला दिनुको साथै सुरक्षित रूपमा सहयोग लिन सकिने ठाउँका बारेमा जानकारी दिनेछन् ।”
यससँगै जोन्टाले अभियानको एक हिस्साको रूपमा काठमाडौंको विभिन्न सार्वजनिकस्थलमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दैछ । सामाजिक सन्देश प्रवाह गर्नका लागि सडक नाटक बढी प्रभावकारी हुने भएकाले यिनीहरूमार्फत ‘लैंगिक हिंसा र बाल–विवाहविरुद्ध आवाज उठाऔं’ भन्ने मुख्य सन्देश फैलाउन हामी निरन्तर लागि पर्नेछौं, जोन्टा काठमाडौंकी सदस्य एवं अधिवक्ता रत्न कार्कीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्