एमाले महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान «

एमाले महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान

नेकपा (एमाले) को महाधिवेशनको उद्घाटन सत्र आज (शुक्रबार) नारायणी नदी किनारमा हुँदै छ । करिब पाँच लाख जनता सहभागी गराउने एमालेको तयारी छ ।
१२ गतेसम्म चल्ने महाधिवेशनका गतिविधिले चितवनमा चहलपहल बढ्दो छ । कोभिड–१९ ले सुस्ताएका पर्यटन क्षेत्र, होटल क्षेत्र, उद्योगी–व्यवसायी महाधिवेशनको बढ्दो चहलपहलले निकै उत्साहित छन् । ११ गते बन्द सत्र हुने सौराहा क्षेत्र यतिबेला सजिएको छ । यही सन्दर्भमा चितवनमा हुने एमाले महाधिवेशनलाई कसरी लिएका छन् भनेर निजी क्षेत्रसँग कारोबारकर्मी विप्लव काफ्लेले गरेको कुराकानीको सार :

पर्यटन क्षेत्र उत्साहित छ
गुणराज थपलिया
महासचिव, क्षेत्रीय होटल संघ, सौराहा
कोभिडका कारण पर्यटन क्षेत्र धराशायी बनेको थियो । विस्तारै लयमा फर्किंदै छ । पछिल्लो तीन महिनायता लय समात्दै छ । तर, पर्यटक आवागमन निकै कम थियो । जब चितवनमा एमाले महाधिवेशन हुने निर्णय भयो, बन्द सत्र सौराहामा हुने खबरले सौराहा निकै उत्साहित बन्यो । एमालेसँग ३ हजार ५ सय बेड बुकिङ भए ।
अन्यले पनि अग्रिम बुकिङ गरे । सुनसान सौराहा भरिभराउ बनेको छ । हामी के गर्ने भनेर सोचिरहेकै बेला देशभरबाट पाहुनाहरू आउने वातावरण बनाइदिएकोमा हामी खुसी छौं ।
करिब एक हप्ता सौराहामा चाप बढ्नेछ । सौराहामा मात्रै यो अवधिमा ६ करोडभन्दा बढीको कारोबार हुने अनुमान छ । सौराहाले धेरै ठूला कार्यक्रम पनि गर्न सक्छ, सौराहा सुरक्षित छ भन्ने सन्देश देश–विदेशमा दिने वातावरण आएको छ । तत्कालै सौराहाले धेरै आम्दानी नगर्ला । तर, दीर्घकालसम्म सौराहाको प्रचारप्रसार हुने अवस्था सिर्जना भएको छ । कुनै दलविशेषको कार्यक्रम भए पनि समग्र चितवनको पर्यटन क्षेत्रमा उत्साह थपेको छ । सौराहामात्रै होइन, नारायणगढ, भरतपुर, टाँडीलगायतका बजार, अन्य पर्यटकीय गन्तव्यहरूमा पनि चाप बढेको छ । महाधिवेशन सकिएलगत्तै सौराहा केही हप्ता सुनसान होला ।
तर, देशभरिबाट सौराहा एकपटक घुमौं भनेर आन्तरिक पर्यटक आउने अपेक्षामा छौं । विदेशबाट पनि घुम्न आउने लहर बढ्नेछ । बन्द सत्रमा सहभागी हुने या अवलोकन गर्न आउनेहरूले पर्यटकीय गतिविधि बढ्नेछ । जिप, हात्ती सफारी पनि बढ्नेछ । एकैसाथ सौराहा पूरै भरिभराउ भएको पहिलो पटक हो । सौराहाका सबै कोठा अग्रिम बुकिङ भइसकेका छन् ।
पाहुनाहरूबाट जथाभावी शुल्क नलिन र सहुलियतसहितको तोकिएको शुल्कमात्र लिन व्यवसायीलाई आग्रह गरेका छौं । हामी स्वागत–सत्कारमा कुनै कमजोरी हुन नदिन सतर्क छौं । ससानादेखि धेरै ठूला कार्यक्रम गर्न सक्ने गरी सौराहाका पर्यटन व्यवसायी ऐक्यबद्ध बनेका छौं । हामी सौराहामा घुम्न या कार्यक्रम लिएर आउन सबैलाई अपिल गर्न चाहन्छौं ।

अर्थतन्त्र चलायमान हुनेछ
युगराज वस्ती
उपाध्यक्ष, चितवन उद्योग संघ
चितवनमा हुने एमालेको आसन्न महाधिवेशनले निश्चय पनि यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउनेछ । लामो समयदेखि कोरोना महामारीका कारण सुस्त बनेको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत मिल्नेछ । सहज रूपमा महाधिवेशनका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न हुँदा चितवनमा ठूला कार्यक्रमहरू आयोजना गर्न सकिन्छ भन्ने सन्देश देश–विदेशमा पनि जान्छ । यसले भविष्यमा यहाँको पर्यटन विकासमा टेवा पुग्छ । होटल व्यवसाय मात्र नभएर कार्यक्रमको तयारी र समापनपछिको व्यवस्थापनका लागि सवारी साधनको प्रचुर प्रयोग हुने कारणले महामारीका कारण शिथिल भएको यातायात व्यवसायलाई पनि थोरै नै भए पनि राहत पुग्छ । अर्कातर्पm फ्लेक्स प्रिन्ट व्यवसाय, प्रकाशन व्यवसायले पनि केही न केही राहत महसुस गर्नेछन् । महाधिवेशनमा ५ लाखभन्दा बढी सहभागी हुने समाचार सुनिरहेका छौं । यति धेरैलाई खानाको व्यवस्था गर्नु आपैंmमा चुनौतीपूर्ण छ ।
चितवन र वरपर उत्पादन गरिएका तरकारी, फलपूmलले बजार पाउने कुरा निश्चित छ । चितवन र नवलपुरका पर्यटकीय क्षेत्रहरू सौराहा, देवघाट, पटिहानी, मेघौली, मौलाकालिका, उपरदाङ गढी, सिराइचुली, थारु सांस्कृतिक संग्रहालय, कसरा आदिजस्ता ठाउँहरूको प्रचार–प्रसारमा पनि मद्दत पुग्नेछ । पोल्ट्रीको राजधानी मानिएको चितवनमा यस्ता कार्यक्रमका कारण कुखुरा, माछालगायतका मासुजन्य व्यवसायको व्यापार पनि उल्लेख्य मात्रामा वृद्धि हुनेछ ।
अल्पकालीन प्रकृतिकै भए पनि धेरै संख्यामा रोजगारी सिर्जना भएको छ । महाधिवेशनका कारण सबै व्यवसायमा सकारात्मक प्रभावमात्र भने पर्नेछैन । महाधिवेशनको तयारी, नारा–जुलुसजस्ता कार्यक्रमका कारण सवारी व्यवस्था अस्तव्यस्त बनिसकेको छ । समुद्घाटनका दिन चितवनमा लगभग सवारी साधन ठप्प बन्दै छ । यसले गर्दा उद्योग, कलकारखाना सञ्चालन गर्न अत्यन्त असहज हुनेछ । सम्भवतः धेरै उद्योग–व्यवसाय त्यस दिन बन्द रहनेछन् । यसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ । दैनिक ज्याला, मजदुरी गरेर खाने समूहका लागि पनि यस कार्यक्रमले समस्या पैदा गर्नेछ । अनायासै बढ्न गएको मागको चापले गर्दा बजारमा अत्यावश्यक वस्तुहरूको चरम अभाव हुने र यसबाट न्यून आय भएका नागरिकहरू मर्कामा पर्नेछन् ।

पर्यटन व्यवसायमा अमृत जल बन्यो
दिनेशकुमार चुके
वरिष्ठ उपाध्यक्ष, होटल व्यवसायी महासंघ नेपाल
करिब १७ महिनापछि कोरोनाको ग्राफ घट्दै गएको अवस्थामा होटल–रेस्टुराँहरू विस्तारै चल्दै थिए । स्वास्थ्य मापदण्ड अपनाएर करिब २० प्रतिशतमात्रै खुले । दसैंतिहारमा केही राहत महसुस भएको थियो । चितवनको पर्यटनलाई एमाले महाधिवेशनले ठूलो सहयोग पु¥याउँदै छ । १० गतेदेखि १२ गतेसम्म महाधिवेशनका गतिविधि चितवनमा हुँदैछन् । देशभरिबाट चितवन आउने क्रम बढ्दो छ । नेता, कार्यकर्ता, सर्वसाधारण सबै चितवन आउँदै छन् । करिब एक हप्ता चितवनमा चहलपहल हुँदै छ ।
चितवनका होटल–रेस्टुराँमा कारोबार अत्यन्त नै राम्रो हुने देखिन्छ । आयोजक समितिबाट पनि आउने प्रतिनिधिहरू, आगन्तुक पाहुनाहरूलाई व्यवस्थित बसाइ र खानाका लागि निश्चित मापदण्डसहित सुविधा प्रदान गर्न सहमति गरिएको छ । ३० देखि ५० प्रतिशत छुट लजिङमा र खानामा करिब २० प्रतिशतसम्म छुट दिइएको छ ।
पूर्वप्रधानमन्त्री, शीर्षस्थ नेताहरूको चितवन बसाइले चितवनको समग्र विकासमा ध्यान अवश्य पनि केन्द्रित हुने अपेक्षा छ । भ्रमण वर्ष– २०२० को तयारीका लागि निजी क्षेत्र उत्साहित बनेर होटल, रेस्टुराँको स्तरोन्नति गरी, क्षमता बढाएर लगानी थपेका थिए । तर २०७६ चैतदेखि नै कोभिड–१९ का कारण भ्रमण वर्षका कार्यक्रम नै स्थगित भए । लगानी नै डुब्ने अवस्था आइलाग्यो । करिब डेढ वर्ष एकतिहाइ तलब दिएर कर्मचारी राख्नुपर्ने अवस्था सिर्जना भयो । पछिल्लो समय करिब पाँच लाख जनता चितवनमा ल्याउने गरी भएको महाधिवेशनका गतिविधिले चितवनको अर्थतन्त्रमा आशा दिलाएको छ । चितवनको पर्यटन व्यवसायमा अमृत जल सावित भएको छ ।

चितवनको पर्यटन विकासमा कोसेढुंगा
डा. तिलचन्द्र भट्टराई
पूर्वअध्यक्ष, चितवन उद्योग वाणिज्य संघ
एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा हुनु गौरव हो । यसले यहाँको समग्र राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पु¥याउने अपेक्षा छ । कोभिड–१९ ले जर्जर बनाएको पर्यटनलगायतका क्षेत्रको आर्थिक गतिविधिलाई सक्रिय बनाउन यसको ठूलो योगदान रहनेछ । दुई दिन पहिल्यैबाट चितवनका प्रायः सबै होटल भरिएका छन् । एकैपटक यति धेरै होटल पाँच दिनसम्म पूर्णरूपमा भरिभराउ भएको इतिहासमै पहिलो पटक हो ।
पाँच लाख जनता उद्घाटनको कार्यक्रम हेर्न आउँदै छन् । करिब सात हजार सर्वसाधारण करिब तीन दिनसम्म चितवनमै बस्ने अनुमान छ । चितवनमा बसेर हुने विविध खर्चले चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ । उद्घाटनस्थल बनाइएका प्रचार सामग्रीले चितवनको मौलिक पर्यटनको पूर्ण रूपमा प्रचारप्रसार हुनेछ । ७७ जिल्लाका आगन्तुक पहिलो पटक सौराहा पुग्दै छन् । करिब ६० प्रतिशत नयाँ आगन्तुक हुने अनुमान छ ।
नवआगन्तुकलाई खुसी पार्न सकिए सौराहाको प्रचारप्रसारमात्रै होइन, आगामी दिनमा पनि भ्रमणमा आउनेछन् । विश्वमै दुर्लभ रहेको एकसिंगे गैंडालाई महाधिवेशनको लोगोलगायत प्रचार सामग्रीमा राखिरहनु चितवनका लागि गौरवको कुरा हो । यसले वन तथा वन्यजन्तु संरक्षणमा सबैको ध्यान केन्द्रित गर्नेछ । पर्यटन प्रवद्र्धनका लागि यो महाधिवेशन भविष्यमा कोसेढुंगा सावित हुनेछ । चितवनमा सबै ठूला कार्यक्रम गर्न सकिने पूर्वाधार छन्, होटल–रेस्टुराँहरू छन्, चितवन सहयोगी छ भन्ने सन्देशलाई देशव्यापी बनाएको छ । दलविशेषको कार्यक्रम भए पनि समग्र चितवनकै हितमा देखिन्छ ।

उद्यमका सपना देखाउने अवसर छ
निरञ्जन न्यौपाने
पूर्वअध्यक्ष, नेपाली युवा उद्यमी मञ्च, चितवन
चितवन सबैका लागि सधैं चुनावी एजेन्डा स्थलमात्र हुँदै आएको थियो । तर, यसपालि फेरि चितवनलाई केन्द्रको प्रिय जिल्लाका रूपमा पुष्टि गरेको छ । चितवनमा विभिन्न पार्टी र उनका निकट संघसंस्थाले महाधिवेशन गर्ने निर्णय गरेलगत्तै यहाँ चहलपहल बढेको छ । राजनीतिक वृत्तमा चहलपहल त ल्याएकै छ । दुई वर्ष कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्र, पर्यटनलाई केही राहत पुग्दै छ । चितवन साँच्चिकै जोसिलो छ, लाखौं पाहुनालाई स्वागत गर्ने जिम्मा लिएर आवाससहितको काममा चितवनका युवा तम्तयार छन् । अहिले सयौं होटलहरू बुक भएका छन् ।
आन्तरिक पर्यटकको आवागमन बढ्दा पर्यटकीय गतिविधि ह्वात्तै बढ्नेमा दुईमत छैन । चितवनको विशिष्टता देखाउने यो सुन्दर मौकालाई हामीले चुक्न दिनु हुँदैन । यहाँ आउने हरेक आगन्तुक केवल राजनीतिक दलका पाहुना बनेर आउँदै छैनन् ।
उनीहरू समग्र चितवनवासीकै पाहुना बनेर आउने हुन् । हरेक पाहुनालाई विशिष्ट सत्कार, पर्यटकीयस्थलको अवलोकन तथा जानकारी, उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्यको पहिचान, उद्योग–व्यवसायका सम्भाव्यता हस्तकलासँगको सामीप्यता बढाउन सक्यौं भने दिगो आर्थिक गतिविधिको सुनिश्चिता गर्न सकिन्छ । अधिवेशनकै सन्दर्भ पारेर चितवन आउनेहरू कोही आफ्ना उद्यमका सपना, व्यवसायको अध्ययन, शिक्षाको सपना र स्वास्थ्य जाँचसमेतका उद्देश्यलाई एकैसाथ लिएर आउने सम्भावना प्रशस्त रहन्छ ।
तसर्थ अहिलेको यो आर्थिक चहलपहलले दिगो विकास र प्रवद्र्धनमा टेवा पु¥याउने कुरालाई ध्यानमा राखेर हामीले बाह्य जिल्लालाई त्यो सक्षमता देखाउन सक्ने गरी आवश्यक पहल गर्नुपर्छ । पछिल्ला केही वर्षयता चितवनमा साँच्चिकै ठूला–ठूला योजनाले स्थान पाएका छन् । पोल्ट्रीको राजधानी हौं, दुग्ध उत्पादनमा अग्रणी जिल्ला हो, मेडिकल सिटीकै रूपमा विस्तार हुँदैछ । गरे के हुँदैन भनेर देखाउन चितवन एउटा उदाहरण बन्दै गएको छ । चितवनवासीले कम्तीमा पनि यहाँको विकास–निर्माणका एजेन्डामा ऐक्यबद्धता जनाउनुपर्छ, दबाब सिर्जना गर्नुपर्छ । राजनीतिक खिचातानीका बीच यस्ता एजेन्डा ओझेलमा पर्दै आएका छन् ।

माइस टुरिजमको केन्द्र बनेको छ
डा. विश्वराज सुवेदी
पर्यटन विज्ञ
कोभिडले पर्यटकीय मौसममा सौराहाले प्रतिदिन करिब ५६ लाख नोक्सानी वहन गर्नुपरेको अनुमान छ । चितवन राष्ट्रिय निकुञ्जले वार्षिक २५ करोड राजस्व गुमाउनुपर्ने अवस्था थियो । जिल्लामा रिसोर्ट, होटल, होमस्टे, जिप, डुङ्गा, हात्ती, टाँगा आदिमा कुल ३० अर्ब लगानी छ । पर्यटकस्तरीय २ सय २५ होटलले यस पर्यटकीय सिजनमा प्रतिदिन एक करोड ५० लाख आम्दानी गर्न नसक्ने अवस्था झेलेका छन् । मझौला तथा साना होटल तथा रेस्टुराँको करिब एक करोड ५० लाख आम्दानी गुम्दै थियो । यस्तो बेला भएको सभा–सम्मेलनले आर्थिक कारोबारमा सघाउँदै छ ।
दल विशेषको कार्यक्रममा देशविदेशबाट आउने भएकाले पनि चितवनको अर्थतन्त्रमा उल्लेख्य फाइदा पुग्नेछ । सभा, प्रोत्साहन भ्रमण, सम्मेलन, प्रदर्शनी अर्थात् सभा–सम्मेलन पर्यटन (माइस टुरिजम) भन्ने गरिन्छ । यो पर्यटनका लागि चितवन मध्यभागमा पनि छ । गन्तव्यहरू पनि प्रशस्तै छन् । सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको छ । एमालेको केन्द्रीय महाधिवेशन चितवनमा हुनु र देशभरबाट करिब पाँच लाख जनता ल्याउने तयारीले समग्र चितवनकै गतिविधिहरू चलायमान हुनेछन् ।
माइस टुरिजमले छोटो अवधिका लागि चाप बढाए पनि प्रवद्र्धनमा उल्लेख्य सघाउँछन् । पर्यटन क्षेत्रलाई लयमा फर्काउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिक योजना बनाउनुपर्छ । बजारीकरण गर्ने, पर्यटकीय क्रियाकलापहरू वृद्धि गर्ने, स्वास्थ्य पर्यटन, कृषि पर्यटन तथा पर्यापर्यटनलाई विशेष जोड दिइनुपर्छ । आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ पर्याप्त बजेटको खाँचो छ ।

महाधिवेशनले यातायात अवरुद्ध नहोस्
टेकलाल भुसाल
युवा उद्यमी
देशका प्रमुख सहरमध्यको पुरानो नारायणघाट बजारलाई स्पर्श गर्दै बग्दै गरेको नारायणी नदीकिनारमा एमालेको महाधिवेशन हुँदैछ । चितवनमा चहलपहल बढेको छ । भनिन्छ, चितवन नेपालको दोस्रो राजधानी मानिन्छ । यो देशभरिबाट बसाइँ सरी आउने क्षेत्र पनि हो । कता–कता मन उत्साहित छ । आधा करोडको मञ्च, १५ लाख बराबरको सेल्फी प्वाइन्ट २५ ठाउँमा, करोड मूल्यका ४४ वटा गेटलगायत अर्बौंको महाधिवेशन खर्च यही चितवनमा हुँदैछ ।
वस्तुको व्यापार गर्नेहरूका लागि अवसरको बाढी नै आएको छ चितवनमा । छोटो अवधिमा धेरै कारोबार हुँदैछन् । विशेषगरी होटल, यातायात क्षेत्र, तरकारी, खाद्यान्न, दुग्धजन्य वस्तु, माछामासु, पेय पदार्थ, प्लास्टिकजन्य सामानहरू, छपाइसम्बन्धी सामानलगायत उल्लिखित वस्तुहरूको ढुवानीमा समेत थोरै दिनका लागि भए पनि चितवनको अर्थतन्त्र राम्रोसँग चलायमान हुने देखिन्छ । ट्राफिक व्यवस्थापनमा केही समस्या आउने देखिन्छ ।
१० गते नारायणगढ बजारमा सवारी नै चल्न नदिने, अझ एम्बुलेन्ससम्म चल्न नदिने खबर भने राम्रो होइन । नेपाल बन्दको घटनालाई अपवाद मानौं, जति बेलाका आन्दोलनमा एम्बुलेन्सहरू निशानामा पर्दैनथे । यो महाधिवेशन त ‘जनताको समाजवाद’ को नारा दिइएको पार्टीकै कार्यक्रम भएकाले राजमार्ग नै बन्द गर्नु हुँदैन । पूर्व–पश्चिमबाट आउने तर यहाँ नरोकिने अन्य सहर जाने यात्रुहरूलाई हालको रुट पुल्चोक पोखरा बसपार्कको रुट परिवर्तन गरी चौबीसकोठी हुँदै पारस बसपार्कबाट बाइपास हुँदै गन्तव्यतिर जान आउन दिइनुपर्छ । असहज परिस्थिति सिर्जना गर्दिनु हुँदैन । फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने देखिन्छ । कार्यक्रम भव्य गर्ने तर चौरभरि फालिएका फोहोर सफा नगरी जाने प्रवृत्ति नहोस् ।

प्रतिक्रिया दिनुहोस्