प्रदूषणले मानव स्वास्थ्यमा पारेको असर «

प्रदूषणले मानव स्वास्थ्यमा पारेको असर

२०७८, मंसिर ४ गते शनिबार बिहान काठमाडौँमा पीएम २.५ को मात्रा प्रतिघण्टा १ सय ७६ सम्म पुगेको आईक्यू एयरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १ सय ५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञका अनुसार काठमाडौँमा मंसिर ३ र ४ गते दुई दिन बदली हुँदा वायु प्रदूषण बढेको पाइन्छ ।
विश्वकै पहिलो प्रदूषित सहर पाकिस्तानको लाहोरको वायु गुणस्तर सूचकांक पीएम–२.५ को मात्रा प्रतिघण्टा ४ सय ७ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो । दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँ दिल्ली, चौथोमा किर्गिस्थानको बिस्केक, पाँचौंको भारतको कोलकाता, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौँ सहर रहेको छ ।
त्यस्तै गत वर्ष २०७७, चैत १३ गते बिहानसम्म सफा रहेको काठमाडौँको वायुमण्डल एकाएक धुमलिन पुगी क्षणभरमै तुवाँलोले भरिएको थियो । भिजिबिलिटी स्वाट्टै घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवासमेत रोकिएको थियो । घरबाहिर निस्केका सर्वसाधारणले आँखा पोलेको महसुस गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक ३ सयभन्दा बढी भएमा घातक भनेको छ । सो समयमा उपत्यकामा सूचकांक ४ सय ७० सम्म रेकर्ड हुनु पुग्यो । सो बेला काठमाडौँको चारै दिशाको जंगलमा २०७७ चैत १२ गतेदेखि नै डढेलो लागेको थियो । २०७७ चैत १२ गते बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ ठाउँमा डढेलो लागेको थियो ।
विज्ञका अनुसार सो दिनको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताएका छन् । नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्ने हो भने यति डढेलो विगतमा कहिल्यै लागेको थिएन । मध्यफागुनदेखि वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । तर, गत वर्ष हिमाली क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्न सुरु भएको थियो ।
सोको प्रभावसमेतले काठमाडौँमा प्रदूषण अत्यधिक मात्रामा बढेको विदितै छ ।
जाडोयाम बढेसँगै जताततै फोहोर बाल्ने र आगो ताप्ने क्रियाकलापहरू बढ्छ, जसको कारणले गर्दा प्रदूषणको खतरासँगै डढेलोको खतरा पनि बढ्न सक्छ । गत वर्षको डढेलोको तथ्यांक र खतरालाई ध्यानमा राखी यस वर्ष सो समस्याको न्यूनीकरण तथा समाधानका लागि विपद् पूर्वतयारी योजनाको अति आवश्यकता पर्छ । सोका लागि स्थानीय सरकारले बेलैमा सोच्न सके गत वर्षको जस्तो क्षति बेहोर्नु पर्दैन ।
नेपालतिर प्रदूषण बढ्नुमा भारतको पनि प्रभाव पर्छ । कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषणसमेत मिसिएपछि वायु थप प्रदूषण बन्छ । वायु वेगले बगेको भए प्रदूषण घट्थ्यो ।
तर, हावा पनि चलेन, प्रदूषणमात्रै भित्रिरह्यो । सो कारणले वायुमण्डलको तल्लो तहसम्मै प्रदूषण अत्यधिक फैलन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।
प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको छ । सो असरको प्रभावले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमण हुने जोखिम बढेको छ । प्रदूषणको कारणबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित भएका छन् । स्वस्थ व्यक्ति पनि सो कारण हाच्छ्युँ हाउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखा पोल्ने, छातीमा संक्रमण हुने गरेको छ । भौगोलिक बनावटका कारण काठमाडौँको वायु प्रदूषण त्यसै पनि उच्च छ । बाक्लो बस्ती, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ ।
स्टेट अफ ग्लोबल एयर, २०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरको छ । वायु प्रदूषणका कारण खास गरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनियाँ, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । यसको रोकथामका लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाउँमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि ।
तुवाँलाको स्तर व्यापक रहेसम्म आमव्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिन सल्लाह दिने, बढ्दो प्रदूषणको अवस्थामा मर्निङ, इभिनिङ वाक वा घरबाहिर गरिने व्यायामले स्वास्थ्यमा असर गर्ने हुन सक्छ, सोबाट जोगिने, वायु प्रदूषणले छालामा समेत असर पार्ने, समयभन्दा अगावै बुढ्यौली आउने, चाउरिनु, छालामा दाग लाग्नुलगायतका थुपै छालासम्बन्धी समस्या देखिनुका साथै तत्काल एलर्जी, छाला रातो हुने, बिमिरा आउने, चिलाउने, घाउ हुने, जलन र संक्रमण हुन सक्ने हुन्छ ।
एक्जिमाको समस्या हुनेलाई वायु प्रदूषण÷तुवाँलोले झन् असर गर्न सक्छ । चिकित्सकका अनुसार प्रदूषण बढेको समयमा वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानी वा फेस वासले राम्ररी धुने र मोइस्चराइज वा नरिवलको तेल लगाउनुपर्छ । त्यस्तै समय–समयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छाला, जम्मा भएको प्रदूषक, रसायनको तह आदि हटाउन सकिन्छ ।
स्वास्थ्यकर्मीका अनुसार तुवाँलोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुन सक्छ । एलर्जी भएर आँखा जोडले चिलाएमा आँखाको सतहमा चोटपटक भई संक्रमणको खतरा हुन सक्छ ।
यस्तो प्रदूषणबाट आँखालाई जोगाउन बेलाबेलामा सफा पानीले धुनुपर्छ । प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वयको कमी छ । यो अवस्थाबाट बच्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा राजनीतिज्ञ निहित स्वार्थमा मात्र नलागी आवश्यक समन्वय गर्दै प्रदूषणजस्तो तत्कालीन र दीर्घकालीन विपद्लाई अविलम्ब नियन्त्रण गरी मानव स्वास्थ्यको रक्षा गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्