लागूऔषध कारोबारको ‘ट्रान्जिट’ बन्दै मकवानपुर «

लागूऔषध कारोबारको ‘ट्रान्जिट’ बन्दै मकवानपुर

७ महिनामा १२० जना पक्राउ, १६ क्विन्टल गाँजा र ४ क्विन्टल चरेश बरामद

हेटौंडा-अवैध लागूऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा चिनिएको मकवानपुरमा पछिल्लो समय कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । मकवानपुर तथा धादिङका ग्रामीण भेगमा उत्पादन हुने गाँजा तथा चरेश लुकाईछिपाई भारत निकासी गर्न सक्रियहरूलाई प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर नियन्त्रणमा लिन थालेको हो ।
गाउँ गाउँमा पुगेर प्रहरीले सूचना संकलन गरी घरघरमै लुकाएर राखिएको लागूऔषध नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । प्रहरीले हेटौंडा तथा आसपासका क्षेत्रबाट दैनिकजसो लागूऔषध कारोबारी पक्राउ गरिरहेको छ ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चालू आवको करिब ७ महिनामा मकवानपुरबाट १ सय २० जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । गत साउन महिनादेखि माघ ९ गतेसम्मको अवधिमा लागूऔषध सम्बन्धी ७४ वटा मुद्दा दर्ता गरिएको छ ।
यस अवधिमा पक्राउ पर्नेमा १ सय ६ जना नेपाली र १४ जना भारतीय रहेका छन् । भारतीय १ जनासहित ६ जना महिला पनि लागूऔषध कारोबारमा सक्रिय भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । ७ महिनाको अवधिमा एक हजार ६ सय १७ किलो गाँजा र ३ सय ५ किलो चरेश बरामद भएको छ । १ सय ७३ बोतल लागूऔषध कोरेक्स र ९ सय १९ ट्याबलेट नाइट्रोभेट बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । त्यसैगरी उल्लेख्य मात्रामा डाइजेपाम, ब्याप्रोनोरफिन, फेनारगन, नोर्फिन जस्ता लागूऔषध बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
मकवानपुरको ग्रामीण भेगमा वर्षौंदेखि अवैध लागूऔषध गाँजा र अफिमको खेती हुने गरेको छ । बर्सेनि प्रहरीले फँडानी अभियान नै चलाउँछ तर पनि धादिङ र मकवानपुरको ग्रामीण भेगबाट उत्तिकै मात्रामा गाँजा मकवानपुरको बाटो हुँदै भारत निकासी हुने गरेको छ । प्रहरीले चालू आवमा मकवानपुरको विभिन्न भेगमा पुगी ३ सय ४३ बिगाह ११ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडाँनी गरेको थियो भने ३३ बिगाहा ९ कट्ठामा रोपिएको अफिम खेती पनि फँडानी गरेको तथ्याङ्क छ । गाँजा तथा अफिम फाँडानीको लागि मात्र जिल्ला प्रहरी कार्यालय र ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट विभिन्न समयमा १ हजार ४ सय २५ जना प्रहरी जनशक्ति खर्च भएको मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताए ।
मकवानपुरमा लागूऔषध कारोबारी निकै सक्रिय भएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरीले उत्तिकै चलाखीका साथ काम गरेको प्रहरी उपरीक्षक सिंहको भनाइ छ । “लागूऔषध निकासी भइरहँदा पक्राउ गर्ने अभियानका साथ गाउँगाउँमा भएका लागूऔषधका भण्डारमै पुगेर अप्रेशन गर्न सुरु गरेका छौं । लागूऔषधको भण्डारण रहेको क्षेत्रको सूचना संकलन गरी तालिम प्राप्त कुकुरको समेत प्रयोग गरी अवैध लागूऔषध कारोबार नियन्त्रणमा जुटेका छौं,” सिंहले भने ।

एकै ठाउँबाट २०३ किलो चरेश बरामद
मकवानपुर प्रहरीले बुधबार ठूलो परिमाणमा अवैध लागूऔषध चरेश र चरेश बनाउन राखेको गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका–१ डाँडाखर्कबाट चन्द्रबहादुर घलानको घरबाट २ सय ६७ पोकामा २ सय ७३ किलो चरेश र गोठमा लुकाई राखिएको ५ वटा बोरामा चरेश बनाउन राखेको गाँजाको धुलो १ सय ९१ किलो बरामद गरेको हो ।
उक्त लागूऔषधसहित घरधनी ४३ वर्षीय चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका–८ किराञ्चोकका ३६ वर्षीय जीवन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । ठूलो मात्रामा लागूऔषध राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा गएको प्रहरी टोलीले उक्त चरेश र गाँजाको धुलो बरामद गरेको हो । उक्त चरेश र गाँजाको धुलो भारत निकासीको लागि धादिङको किराञ्चोकबाट कैलाश ल्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
उनीहरूलाई प्रचलित कानुनअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने प्रहरी उपरीक्षक सिंहले बताए ।
त्यसैगरी बिहीबार नै प्रहरीले लागूऔषध चरेश बनाउन प्रयोग हुने ६ किलो गाँजाको धुलो तथा हतियारसहित अर्को एकजनालाई पनि पक्राउ गरेको छ । मनहरी गाउँपालिका–२ बाट पर्सा जिल्ला जमुनियाँ–४ का ५४ वर्षीय चिन्ता पञ्जियार थारुलाई पक्राउ गरेको हो । उनको साथबाट एकथान खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले हेटौंडा–२ बाट ५ सय ग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पर्सा कालिमाई गाउँपालिका–२ का हरेरामप्रसाद कुशवाहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्