उद्योग दिवसले बढाउन नसकेको आत्मविश्वास «

उद्योग दिवसले बढाउन नसकेको आत्मविश्वास

‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ नारासहित सातौं राष्ट्रिय उद्योग दिवस मनाउँदै गर्दा नेपालले चालू आर्थिक वर्षको पहिलो चार महिनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात गरेको छ । नेपालमा उद्योग विकासको औपचारिक सुरुवात भएको ७५ वर्ष भइसक्दा पनि अझै आयातमुखी अर्थतन्त्रको धापमा परिरहनुले औद्योगीकरणमा व्यापक सुधारको आवश्यकता रहेको इंगित गर्छ ।
नेपालमा औद्योगीकरणको सुरुवात सन् १९४६ बाट भएको मानिन्छ । किनकि सन् ५० को दशकमा पश्चिम युरोप तथा अमेरिकाबाट एसियामा पहिलो आधुुनिक उद्योगको स्थानान्तरण भइरहेको समयमा नेपालमा पनि आधुनिक उद्योगको सुरुवात भइसकेको मानिन्छ ।
तर, आज उनीहरू कहाँ पुगिसके, नेपाल भने औद्योगीकरणमा अझै घस्रिँदै छ । सन् ९० को दशकमा हाम्रै छिमेकी देशहरू भारत र चीनले उत्पादनमूलक क्षेत्रमा बहुुराष्ट्रिय कम्पनी र बाह्य लगानी भिœयाइरहँदा नेपाल पहिलो चरणको आर्थिक सुधारको प्रक्रियामा थियो ।
तर, आज उनीहरू औद्योगिक राष्ट्रको रूपमा उदाउँदा नेपाल भने अझै दोस्रो चरणको आर्थिक सुधारको प्रतीक्षामा छ । नेपालका राजनीतिक दलका लागि उद्योगधन्दा दुहुनो गाईमात्र भयो ।
आर्थिक क्रान्ति र समाजवादको जति भाषण गरे तापनि नेपालका राजनीतिक दल तथा तिनका नेताको लागि उद्योग–व्यवसाय चुनावमा चन्दा दिने तथा आफूलाई परेका बखत आर्थिक सहायता गर्ने परम्परागत साहुजीभन्दा फरक भएनन् । एकै समयमा औद्योगीकरणको सुरुवात गरेका एसियाका अन्य मुुलुक र नेपालको अवस्थालाई तुलना गर्ने हो भने नेपालको अवस्था अत्यन्त दयनीय छ ।
औद्योगीकरणको नेपालको अवस्था अत्यन्त कमजोर रहेका कारण नै कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशतमात्र छ भने निर्यात–आयात अनुपात करिब १ः११ रहेको छ । त्यसैले नेपालमा लागत न्यूनीकरणमार्फत औद्योगीकरणमा जोड दिन सकेमात्र उद्योग फस्टाउने देखिन्छ । उत्पादन लागत, वित्तीय लागत, उद्योगको लागत, प्रशासनिक खर्च र कर लागतजस्ता लागत कटौतीमार्फत औद्योगीकरण गर्न सके नेपाली उत्पादन प्रतिस्पर्धी हुन सक्ने सम्भावना रहन्छ ।
त्यसबाहेक पनि ऊर्जा लागत, जग्गा, श्रम लागत, ब्याजदर, तरलता व्यवस्थापन, परियोजनाको वित्तीय एवं उत्पादन व्यवस्थापनमा अझै धेरै समस्या रहेका छन्, जसका कारण नेपाली उत्पादन महँगो पर्न गई आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन । नेपालको उत्पादन क्षमता दक्षिण एसियामै अत्यन्त कमजोर रहनुमा यस्तो अनावश्यक लागत बढेर हो । सरकारले जतिसुकै सहयोग रहेको बताइए तापनि औद्योगिक क्षेत्रको विकास र त्यससँग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसँग सहकार्य गरी बढ्दो लागत घटाउन नसके नेपालमा औद्योगीकरण एउटा सपना मात्र रहनेछ ।
किनकि चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्बको आयात हुँदा नेपालले ८२ अर्बको मात्र निर्यात गर्न सकेको छ । भन्सार विभागका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्म आयात ह्वात्तै ६१.५१ प्रतिशतले बढेर ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने बढ्न त निर्यात पनि १०४ प्रतिशतले बढेर ८२ अर्ब १२ अर्ब ४२ करोड ९५ लाख पुगेको छ ।
तर, व्यापार घाटाको स्थिति डरलाग्दो गरी बढ्दै भएको छ । चार महिनामा व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड १८ लाख पुगेको छ । अझ डरलाग्दो कुरा त चार महिनामा सबैभन्दा धेरै इन्धन र त्यसपछि खाद्यान्न तथा तरकारी भएको छ ।
विभागका अनुसार ८८ अर्बको इन्धन आयात भएको छ भने २२ अर्ब ५७ करोड ७१ लाख २३ हजार रुपैयाँको खाद्यान्न तथा १६ अर्बको तरकारी आयात भएको छ । साथै, वनस्पति घिउ तथा तेल र तेलजन्य सामग्रीको आयात ५६ अर्ब २४ करोडको भएको छ । चिया र कफी ३ अर्ब ८१ करोडको आयात भएकोमा ३ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ । यसरी नेपालले आफ्ना तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभ भएका वस्तुमा पनि निर्यातभन्दा आयात बढी हुनु अर्थतन्त्र झन् बढी आयातमुखी हँुदै जानु हो ।

प्रतिक्रिया दिनुहोस्