Logo

ग्रामीण महिला खुसी

दुर्गम सुडिगाउँमा ‘एकघर एकधारा’

तिला गाउँपालिका ६ सुडिगाउँकी गोरीकला रावतले जीवनका करिब डेढ दशक खोलाकै पानी खाएर बिताइन् । गाउँमा धारा नहुँदा घन्टौं हिँडेर पानी ल्याउनु पर्ने र दूषित खोलाको पानी पिउनुपर्ने उनको बाध्यता थियो ।
गाउँमा प्रयाप्त खानेपानीका धारा नहुँदाको गोरीकला जस्तै सुडिगाउँका सयौ महिलाको पिडा उस्तै छ । गाउँमै धारा नहुँदा कष्ट घरधन्दासँगै मेलापातमा बढी सक्रिय हुने ग्रामिण महिलाले बढी भोगेका छन् ।
आधारभूत आबश्यकता भित्र पर्ने शुद्ध खानेपानीको पहुँचमा नपुगेका सुडिगाउँका नागरिकको राहतका लागि वर्षौपछि एक घर एक धारा निर्माण गरिएको छ । जिल्लाकै विकट मानिने सुडिगाउँमा एकघर एक धारा निर्माण भएपछि गोरीकला रावत जस्तै सयौ महिला खुसी छन् । एक गाग्री पानीका लागि घन्टांै हिँडेर खोला जानु पर्ने, गाउँका १÷१ धारामा लाइन लाग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाको समन्वयमा सुडिगाउँ घरघरमा धारा जडान गरिएको हो ।
पेश नेपाल जूम्लाका अध्यक्ष किशोर न्यापानेले सुडि गाउँका करिब १ सय घरधुरी एकघर एक धाराबाट लाभान्वित भएको बताए । उनका अनुसार कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत खानेपानी धारा जडान गरिएको हो ।
प्रत्येक घरधुरीका क र ख वर्गले ७९ दिन काम गरेर रोजगारी संगै खानेपानी समेत घरघरमा ल्याएको पेस नेपाल जुम्लाका सब– इन्जिनियर हर्कबहादुर रावतले बताए । उनले भने,“खानेपानी आयोजना निर्माण गरेबापत प्रत्येक घरधुरीका क र ख वर्गका प्रतिघरधुरीले ५७ हजार ६ सय ३२ रुपैयाँ प्राप्त गरेका छन् । भने, ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाएका छन् ।” पेश नेपालको क्याप्स परियोजनाको ८४ लाख ८५ हजार लगानीमा सुडिगाउँमा एक घर एक धारा निर्माण गरिएको पेश नेपालका अध्यक्ष किशोर न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्