चन्दननाथमा ८५ लाख लगानीमा स्मार्ट शौचालय «

चन्दननाथमा ८५ लाख लगानीमा स्मार्ट शौचालय

साविक कर्णालीको अञ्चल सदरमुकाम तथा कर्णाली प्रदेशको दोस्रो ठूलो सहरका रूपमा विकसित जुम्ला सदरमुकाम खलंगामा हालसम्म सार्वजानिक शौचालय थिएन् । सदरमुकाम आउने स्थानीय, आन्तरिक बाह्य पर्यटकलाई दिसा पिसाब गर्न पनि मुस्किल थियो । भने,बजारका कुना,खोला किनार दौडिएर शौच गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा जुम्ला बजार दुर्गन्धित बन्दै गएको छ ।
तर, चन्दननाथ नगरपालिकाले ८५ लाख लगानीमा सुविधायुक्त स्मार्ट सार्वजानिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएपछि शौच गर्नकै लागि खोला किनार दोडिनु पर्ने बाध्यता हटेको छ ।
चन्दननाथ नगरपालिका, एसएनभी नेपालको आर्थिक सहयोग र फोरएस जुम्लाको प्राविधिक सहयोगमा चन्दननाथ ५ कालेखोलीमा स्मार्ट शौचालय निर्माण गरि सञ्चालनमा आएको मेयर कान्तिका सेजुवालले बताइन् ।
उनले भनिन् ,“नगरवासीका लागि मात्र नभई सदरमुकाम आउने आम नागरिकको राहतका लागि सार्वजानिक शौचालय निर्माण गरिएको छ । बजार क्षेत्र सफा पनि हुने र स्थानीय राहत पाउने अपेक्षा छ ।” शौचालयको दिगो व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा मेयर सेजुवालले जोड दिइन् ।
यता ५ नम्बर वडाध्यक्ष अर्जुनसिंह कठायतले भने, “यसअघि उद्योग वाणिज्य संघ नजिक निर्माण भएको सार्वजानिक शौचालय १÷२ वर्षमै प्रयोग विहिन भयो । त्यसो हुनु भएन् । सबै मिलेर संरचनाको प्रयोग र सुरक्षा गर्नुपर्छ । नभए राज्यको लगानी डुब्छ । नागरिक सेवा पाउँदैनन् ।”
शौचालय नहुँदा विशेष गरी सदरमुकाम आउँदा महिलालाई बढी समस्या हुन्छ । उपमेयर अप्सरादेवी महतले महिलाको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहितको सुविधायुक्त शौचालय निर्माण गरिएको बताइन् ।
बजार क्षेत्र दुर्गन्धित भएको व्यापाक गुनासो बढेपछि नगरपालिका गैरसरकारी निकाय एसएनभी नेपालको ८५ लाख संयुक्त लगानीमा सुविधायुक्त शौचालय निर्माण गरिएको चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढुथापाले बताए ।
शौचालय निर्माण गर्नुमात्र ठुलो कुरा नभएकाले यसको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्छ प्रमुख प्रशासकीय बुढ्थापाले भने,“नगरपालिकाको – १० वडामा दश वर्षका लागि जग्गा लिजमा लिएर बजारबाट निस्कने फोहोरालाई व्यवस्थापन गर्ने ठाउँ निर्माण गर्ने तयारी छ । नगरपालिका सफा र सुन्दर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्