एमाले दसौं महाधिवेशनको तयारी पूरा «

एमाले दसौं महाधिवेशनको तयारी पूरा


नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।
उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेले बताएको छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिनेछ । बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए । ११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुनेछ । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । उनका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको उनले जानकारी दिए । कूल प्रतिनिधि संख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ थियो । महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् ।
मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न रु. सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
पार्टीले आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, विधान पास गरिसकेको भन्दै उनले भने, ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गर्ने अब नेकपा एमालेको कार्यदिशा हो ।’ महाधिवेशन सकिए लगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उनले बताए । यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढङ्गले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने सङ्कल्प गरेर फर्कने उनको भनाइ थियो । एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरुलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्