सर्वोच्चमा १५ मंसिरदेखि गोला प्रक्रियाबाट पेसी तोकिने «

सर्वोच्चमा १५ मंसिरदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।
सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।


बालुवाटारसम्म मार्चपास
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गरेको छ । पापडले बिहीबार दिउँसो सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गरेको हो ।
जबरालाई तत्काल महाभियोगको प्रक्रिया थाल्दै न्यायालयमा भएको वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन मार्चपास गरेको पापडले जनाएको छ । सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्चपास माइतीघर, भद्रकाली हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेको थियो । मार्चपासमा सहभागीहरूले जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गरेका थिए । पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्