कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : निधी «

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : निधी

The Deputy Prime Minister of Nepal, Shri Bimalendra Nidhi calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on August 20, 2016.

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।
उनले नेपाली कांग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे । निधीले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताए । उनले विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणले विदेशमा रहेका सबै क्षेत्र र वर्गका नेपालीहरूको हीत संरक्षणमा आफू पार्टी सभापति बनेपछि उचित पहल गर्ने पनि बताए ।
उपसभापति निधीले प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने बताए । उनले देउवा र पौडेलको मार्ग निर्देशनअनुसार नै पार्टी सञ्चालन गर्ने पनि बताए । उपसभापति निधीले नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने प्रतिवद्धता जनाए । उनले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने वाचा गरे । उनले सभापतिमा लड्छु भनेदेखि नै प्रदेश २ मा आफूलाई कमजोर बनाउन धेरै आक्रमण गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्