बेलिब्रिज निर्माण गर्न एक करोड निकासा «

बेलिब्रिज निर्माण गर्न एक करोड निकासा

बाढीले मेलम्चीमा ११ घर क्षति सिन्धुपाल्चोक, १७ साउन : शनिबार रातिदेखि आएको बाढीले मेलम्ची ११ घर क्षति । तस्वीर : देवराज सुवेदी/रासस

मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोडने रातो पुलको विकल्पमा बेलिब्रिज निर्माणका लागि सरकारले करिब एक करोड रुपैयाँ निकासा गरेको छ । बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको हो ।
गत साउन १७ गते पुनः आएको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रूपमा परिचित चनौटेस्थित रातोपुल बगाएपछि हेलम्बुसहित तीन स्थानीय तहसँग सडक सञ्जाल टुटेको थियो ।
बेलिब्रिज पुनर्निर्माणमा नेपाली सेनाका प्रविधिकसहितको टोली खटिएको छ । निर्माण कार्यलाई तीव्र गतिमा सम्पन्न गर्नका निमित्त सेना खटिएको हो । हाल निमार्णाधीन रातो पुलको निर्माणकार्य एक महिनाभित्र सम्पन्न गर्ने योजना रहेको सेनाका प्राविधिक भीमसेन थापाले बताए । “काम तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने भएकाले रातारात निर्माणकार्य भइरहेको छ,” उनी भन्छन्, “पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।” बेलिब्रिज निर्माण पश्चात् आवातजावतमा सकस भएका सडकको सम्पर्क पुनः सहज ढंगले जोडिने थापाले बताए ।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुनेछ । नेपाली सेनाका अनुसार यो पुल बनाउन बढीमा एक महिनाको समय लाग्नेछ । हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने ह्युमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्