१४ प्रतिशत आंगिक क्याम्पसमा दुई हजारभन्दा बढी विद्यार्थी «

१४ प्रतिशत आंगिक क्याम्पसमा दुई हजारभन्दा बढी विद्यार्थी


देशभर सञ्चालनमा रहेका सामुदायिक क्याम्पसमध्ये लगभग आधामा विद्यार्थी संख्या एक सयभन्दा कम छन् ।
देशभर सञ्चालनमा रहेका ५ सय १९ कलेजमध्ये ४५ प्रतिशत अर्थात् २ सय ३७ कलेजमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेका हुन् । विश्वविद्यालय अनुदान आयोगले हालै सार्वजनिक गरेको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा आंगिक र नीजिको तुलनामा एक सयभन्दा कम विद्यार्थी सामुदायिक क्याम्पसमा रहेको उल्लेख छ ।
सरकारले देशभरका सार्वजनिक क्याम्पस सञ्चालनमा वर्षेनी विभिन्न शीर्षकमा अनुदान रकम वितरण गर्दै आए पनि अनुदान पाएका अधिकांश कलेज नै धराशायी बन्दै गइरहेका छन् । सरकारी अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण अधिकांश सामुदायिक कलेज बन्द हुने अवस्थामा पुगेका छन् ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर सञ्चालन भइरहेका ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धराशायी छ । यसैगरी १ सय १ देखि दुई सय विद्यार्थी संख्या रहेको क्याम्पसको संख्या १ सय १२ रहेको छ । यसैगरी दुई सय, पाँच सय र दुई हजारभन्दा बढी विद्यार्थी रहेको क्याम्पसको संख्या क्रमशः १ सय ५, ५९ र ६ रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । यसैगरी एक सयभन्दा कम विद्यार्थी रहेका आंगिक क्याम्पस १४ प्रतिशत अर्थात् २२ वटा रहेका छन् । यसैगरी दुई हजारभन्दा बढी विद्यार्थी संख्या रहेका आंगिक क्याम्पस २३ वटा रहेका छन् भने ६ सामुदायिक र एक निजी क्याम्पसमा दुई हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

आयोगका एक कर्मचारीका अनुसार सरकारबाट अनुदान पाएका अधिकांश कलेजले शैक्षिक गुणस्तर विकास गर्न नसकेका कारण विद्यार्थी संख्यासमेत घट्दै गइरहेको बताए । “धेरैजसो सामुदायिक कलेज च्याउसरी खोलेका कारण सञ्चानमा दिगोपन देखिएको छैन,” उनले कारोबारसँग भने, “राजनैतिक दलको दबाबमा बिना तयारी खोलिएका सामुदायिक कलेजको अवस्था धेरै दयनीय रहेको छ ।
यस्ता कलेज सरकारको अनुदानमा कति समय सञ्चालन हुने भन्ने कुनै निश्चित छैन ।” आयोगले एकपटक अनुदान पाएका कलेजलाई सोही शीर्षकमा पुनः अनुदान दिन नमिल्ने जनाएको छ । हाल देशभर विभिन्न विश्वविद्यालयको सम्बन्धनमा ५ सय १९ सामुदायिक कलेज सञ्चालनमा रहे पनि लगभग चार सय कलेजको अवस्था धराशायी छ । आयोगले वार्षिक हाराहारी विभिन्न शीर्षकमा एक अर्बभन्दा बढी अनुदान सामुदायिक क्याम्पसलाई वितरण गर्दै आइरहेको छ ।
आयोगका सदस्य–सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले प्रतिवेदन सार्वजनिक गर्दै गत वर्ष १ सय ८३ सामुदायिक क्याम्पसलाई भैतिक अनुदान ३७ करोड ९८ लाख सहयोग गरेको बताए । यसैगरी ४ सय ५९ सामुदायिक क्याम्पसले ४३ करोड ३९ लाख ६८ हजार रुपैयाँ नियमित अनुदान प्राप्त गरेको जानकारी दिए । गत वर्षमात्र देशभरमा रहेका अधिकांश सामुदायिक क्याम्पसलाई सरकारले लगभग ८० करोड रुपैयाँ अनुदानमात्र वितरण गरेको थियो । सामुदायिक कलेजले नियमित अनुदान, भौतिक विकास अनुदान, विशेष अनुदान र कार्यसम्पादन तथा सूत्रमा आधारित चार प्रकारका अनुदान पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्