सामाजिक सुरक्षा भत्ता लिनै सास्ती «

सामाजिक सुरक्षा भत्ता लिनै सास्ती

बैंक खाता खोल्नका लागि स्थानीयले स्ट्रेचरमा बोकेर बंैक लैजाँदै बुङगल नगरपालिका–२ की एक महिला । तस्बिर : कारोबार


स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् ।
सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेको छ ।
जिल्लाका १२ वटा स्थानीय तहमध्ये साईपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन । साईपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ । बैक खाता अनिवार्य गरेपछि बुङगल नगरपालिकाले ११ वटै वडामा बैक खाता खोल्न शिविर सञ्चालन गरेको छ ।
बंैकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाको टोलीले वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए ।
बुङगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकी देवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझदै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छन । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पु¥याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैकमार्फत भत्ता बुभ्mने काम झन्झटिलो लागेको छ । उनी भन्छिन्, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । भोलि भत्ता बुभ्mन को गइदेला । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ । दुई घण्टा जति जिपमा जानु पर्छ । सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो । पहिलेका जसरी घरमै पुगेर दिए राम्रो हुने उनको भनाइ छ ।”
हरेक चौमासिकमा घरमै वृद्धभत्ता बुझ्दै आएकी बुङगल नगरपालिका–२ लौनेकी चन्द्रा धामीलाई बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । लौनेबाट वडा कार्यालयसम्म पुग्न ५ घण्टा हिँडनुपर्छ । वडा कार्यलयबाट साना सवारी जिप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङगल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको उनको भनाइ छ । उनी भन्छिन्, “पहिले घरमै दिन्थे । कहिले भतिजा भतिजीहरुलाई बुझेर ल्याउन भन्थें । तर अहिले साह्रै दुःख छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौं लाइनमा बस्नुपर्छ । एकातिर समयको पनि खर्च अर्को तिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडीभाडा र खाना खर्चमै सकिन्छ । भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौं पैदल हिँडेर बजार पुग्नु परेको उनको भनाइ छ ।
बझाङका अधिकांस लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागी कम्तिमा २ घण्टादेखि १ दिन हिडेर बैंक पुग्ने गरेका छन । बैक पुगेपनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौं हिँडनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिले काँही बैकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन समस्या हुने गरेको छ । कतिपयको एकदिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर र्फकनु परेको अवस्था आउने गरेको साईपाल गाउँपालिकाका मिलन धामीले बताए । गाउँनजिकै बैक नहुने र टाढाटाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौं बालबालिका, अपांग, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बंैकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिनु पर्ने लाभग्राहीको माग छ ।

प्रतिक्रिया दिनुहोस्