उपमहानगरपालिकाकै विद्यालयमा शिक्षक पाँच, विद्यार्थी ६ जना «

उपमहानगरपालिकाकै विद्यालयमा शिक्षक पाँच, विद्यार्थी ६ जना


बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ रानी तलाउस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सोमबार कारोबार संवाददाता पुग्दा जम्मा ६ जना विद्यार्थी अध्ययन गरिरहेको पाइयो । भौतिक संरचना र शिक्षकको दरबन्दीले पूर्णता पाएको उक्त विद्यालयमा मध्यान्ह १२ः३० बजे पुग्दा सुनसान देखिएको थियो ।
खाली कोठा पछ्याउँदै जाँदा दुईवटा छुट्टाछुट्टै कक्षा कोठामा शिक्षकले पढाइरहेका थिए । जसमध्ये कक्षा ४ मा ५ जना र कक्षा ३ मा १ जना विद्यार्थी अध्ययन गरिरहेका थिए । विद्यार्थी नआउनुको कारणको जिज्ञासामा प्रधानाध्यापक सकिल अहमद अन्सारीले भने, “हिजो अस्तिसम्म ४० जनासम्म विद्यार्थी आउँथे, मेला हेर्न गएका कारण आज विद्यार्थी नआएका हुन् ।” नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयबाट झण्डै २ किलोमिटरनजिकै रहेको यस विद्यालयको हाजिरी रजिस्ट्ररमा कुल १ सय १५ जना विद्यार्थी भर्ना भएको तथ्यांक छ । तर विद्यालयमा पाँचजना शिक्षकको दरबन्दी भए पनि शिक्षककै हाराहारीमा मात्र विद्यार्थी उपस्थित हुने गरेका छन् । २०२८ सालमा स्थापना भएको विद्यालयमा यसअघि विद्यार्थीको उपस्थिति संख्या राम्रो भए पनि नजिकैको अर्को मावि तहको विद्यालयमा पाँच कक्षामुनि विद्यार्थी भर्ना गर्नुका साथै गरिबीका कारण काममा पठाउँदा विद्यार्थी नआउने गरेको प्रधानाध्यापक अन्सारीले बताए ।
विद्यार्थीको संख्या दैनिकरूपमा घटन थालेपछि शिक्षकहरूले घरदैलो गरेर विद्यार्थी ल्याउने गरेका छन् । शिक्षिका जयालक्ष्मी श्रेष्ठ शिक्षकहरू पालैपालो घरघरै गएर विद्यार्थी पठाउन अनुरोध गर्ने गरेको बताउँछिन् । “हामीलाई यहाँ भर्ना भएका सबै विद्यार्थीको घर थाहा छ, बोलाउन जाँदा पनि नआएपछि के गर्नु,” उनले भनीन्, “विद्यार्थी आकर्षित गर्न बिस्कुटसमेत बाँड्ने गरेका छौं ।”
उनी यहाँ भर्ना भएका विद्यार्थी नजिकैको अर्को विद्यालयले समेत भर्ना गरिदिँदा समस्या भएको बताउँछिन् । आफूहरूले जति कोसिस गरे पनि अभिभावकको चेतना कमीका साथै विविध कारणले दोष खेप्नुपरेको उनको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकाले विद्यार्थीको संख्या ज्यादै न्यून उपस्थिति रहेको पाइएको जनाउँदै कार्यविधि बनाएर दरबन्दी मिलानका साथै व्यवस्थित पढाइका लागि नजिकैको विद्यालयमा मर्ज गर्ने योजना बनाएको जनाएको छ । उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत भीमबहादुर बुढा सधै विद्यार्थी अनुपस्थित भएर यही अवस्थामा विद्यालय सञ्चालन हुन नसक्ने बताउँछन् । यसका लागि या त विद्यालयमा कुनै सुधार आउनु प¥यो नभए नजिकैको अर्को विद्यालयमा मर्ज गर्नुपर्ने उनको भनाइ छ ।
भौतिक संरचना, शिक्षकको दरबन्दीलगायत शिक्षण सिकाइका लागि चाहिने आवश्यक सामग्रीको हिसाबले यो विद्यालयमा कुनै कुराको पनि कमी छैन । तर, विद्यालय सञ्चालनको पर्याप्त आधार हुँदाहुँदै पनि शिक्षक र विद्यार्थीको संख्या भने बराबर नै रहँदा राज्यले विद्यालयमा शिक्षाका लागि गरेको लगानी खेर गएको छ भने गुणस्तरीय शिक्षा नारामै सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्