Logo

अल्लो र कुलुङबीच अन्योन्याश्रित सम्बन्ध

१२ सय मिटरदेखि ३ हजार ३१ सय मिटरको उचाइसम्ममा पाइने, अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ पनि भनिने र कुलुङ जातिको मातृभाषामा ‘जाखिल्-जाखिल’ भनिने गरिन्छ । यसको बोक्रा वा भनौं रेसालाई चाहिँ कुलुङ जातिको मातृभाषामा ‘जा–खिल्ल÷जाखिल्मा’ भन्ने गरिन्छ । भाङ्ग्रे सिस्नोलाई हालको आम प्रचलित भाषामा ‘अल्लो’ भनेर चिन्ने गरिएको छ । त्यसो त भाङ्ग्रे सिस्नोको नाम नेपालका जातजातिपिच्छे फरकफरक हुन सक्ने देखिन्छ । नेपालको मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरूमा अल्लो पाइने गरेको छ । संखुवासभा, सोलुखुम्बु, म्याग्दी, रुकुम, रोल्पालगायत जिल्लामा किसानहरूले यसको व्यावसायिक खेती गर्दै आएका छन् ।
नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न ससाना घरेलु उद्योग र संघसंस्थामध्ये एक ‘हिमालयन फाइबर फाउन्डेसन नेपाल’का तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार नेपालमा उत्पादित अल्लोजन्य उत्पादनहरू नेपालभन्दा पनि विदेशमा उच्च माग रहने गरेको छ । यसरी अल्लोजन्य उत्पादन विदेश निर्यात गरिने देशहरूमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरियालगायत विकशित देशहरू रहेका छन् । कुलुङका अनुसार विदेश निर्यात हुने अल्लोजन्य सरसमानहरू बढीजसो लत्ताकपडा हुने गरेको छ ।
अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको नै अल्लोको बोक्रा अर्थात् रेसा हो । अल्लोको बोक्राको रेसालाई नै धागोको रूप दिएर तान लगाएर बुन्ने हो । नेपालमा अल्लोजन्य उत्पादनलाई व्यवसायीकीकरण गर्नका लागि ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’, ‘निनाम रिदुम ह्यान्डिक्राफ्ट’, ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ (कुलु गुसखोम) लगायत दर्जनौं संघ–संस्थाहरू संस्थागत ढंगले नै लागिपरेका छन् । मुख्य गरेर ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’ले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा ‘मेडेप’ नामक गैरसरकारी संस्थाले पनि लामो समयदेखि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ । विगतमा ‘मेडेप’ नामक गैरसरकारी संस्थाले अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो ।
साना तथा घरेलु उद्योग र तत्कालीन जर्मन सरकार मातहत रहेको जर्मन सहयोग संस्था (जीटीजेट) को सहकार्यमा रुकुम र रोल्पा जिल्लामा अल्लो प्रवद्र्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनुहुन्छ, ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’का तत्कालीन कार्यकारी निर्देशक इन्द्र होनित्ती कुलुङ । कुलुङका अनुसार अल्लोकोे रेसाबाट उत्पादित धागो तथा कपडाहरूबाट विभिन्न सामग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरूमध्ये एक ‘निनाम रिदुम जैविक हस्तकला’ प्रमुख हो । उहाँका अनुसार यसबाहेक ‘होमनेट नेपाल’ले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला उत्पादन गर्ने र बेच्ने कार्य गर्छ ।
समग्र आदिवासी जनजातिको जीवनशैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्ण रूपले परापूर्वकालदेख नै प्रकृतिसँग खेल्दै-हुर्कंदै आएको जाति हो । अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ कुलुङ जातिको मातृभाषामा ‘जाखि–जाखिल्मा’ भनिने अल्लोसँग कुुलुङहरूको उत्पत्तिकालदेखि नै घनिष्ठ र विशेष सम्बन्ध रहेको देखिन्छ । कुलुङ जातिको धर्म र संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पिता–पुर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यसअन्तर्गत भूमि, अन्न–बाली, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, ताल, पोखरी आदिको पूजा गर्ने प्रचलनहरू पर्छ-हो ।
यसरी बोटबिरुवाको कुरो गर्दा अल्लो वा भाङ्ग्रे सिस्नो र कुलुङ मातृभाषामा ‘जाखि–जाखिल्मा’ भनिन्छ । कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’को महत्वपूर्ण र पवित्र–स्थान रहेको देखिन्छ । किनकि, कुलुङ जातिमा ‘जाखि–जाखिल्मा’ विभिन्न उत्सव, महोत्सव तथा धार्मिक परम्परालगायत अन्य कार्यमा परम्परादेखि नै प्रयोग हुँदै आएको छ । कुलुङ जातिको लोककथामा वर्णन गरिएअनुसार कुलुङ जातिका पुर्खाहरूले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले यही अल्लोे अर्थात् ‘जाखि–जाखिल्मा’को बोट काटेर बोक्रालाई छुट्ट्याएर धागो कातेर लुगा बुनेर लगाउन सुरु गरेका थिए । अहिले पनि कुलुङ समुदायको जन्म, विवाह, मृत्यु एवम् अन्य संस्कार, संस्कृति, रीतिथिति, आजापूजा र शुभकार्यहरूमा पनि अल्लो अर्थात् ‘जाखि–जाखिल्मा’को प्रयोग अनिवार्य रहेको छ । यसरी हेर्दा कुलुङ जाति र अल्लोको सम्बन्ध अन्योन्याश्रित छ ।

प्रतिक्रिया दिनुहोस्