चार महिनामै ६ खर्बको आयात, ८२ अर्बको मात्र निर्यात «

चार महिनामै ६ खर्बको आयात, ८२ अर्बको मात्र निर्यात

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि कात्तिकसम्म आयात ६१.५१ प्रतिशतले बढेर ६ खर्ब ५० अर्बको २९ करोड रुपैयाँको भएको हो । अघिल्लो वर्ष सो अवधिमा ४ खर्ब २४ अर्ब ९० करोड रुपैयाँको आयात भएको थियो । सो अवधिमा निर्यात १०४ प्रतिशतले बढेर ८२ अर्ब १२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको भएको छ । अघिल्लो वर्ष ४० अर्ब २४ करोड ९० करोड १७ लाख रुपेैयाँको निर्यात भएको थियो ।
चार महिनामा वस्तु तथा सेवा आयातबाट १ खर्ब ७२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको विभागको भनाइ छ । चार महिनामा व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड १८ लाख रुपैयाँको भएको छ ।
चार महिनामा सबैभन्दा धेरै इन्धन र त्यसपछि खाद्यान्न, तरकारी, आइरन, सवारीसाधनका पार्टपुर्जा आयात भएको छ । विभागका अनुसार ८८ अर्बको इन्धन, ७८ अर्ब १० करोड ९५ लाख रुपैयाँको आइरन, २२ अर्ब ५७ करोड ७१ लाख २३ हजार रुपैयाँको खाद्यान्न, १६ अर्बको तरकारी आयात भएको छ । यो अवधिमा ५५ अर्ब ६२ करोड रुपैयाँ बराबरको आइरन तथा स्टील आयात भएको छ । विभिन्न प्रकारका सवारी साधनको आयातमा ४४ अर्ब ५९ करोड रुपैयाँ विदेशिएको छ । विद्युतीय सामान तथा उपकरणको आयात भने ४६ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति घिउ तथा तेल र तेलजन्य सामग्रीको आयात ५६ अर्ब २४ करोड रुपैयाँ बराबरको भएको छ । घिउ तथा तेलजन्य पदार्थको निर्यात भने ४७ अर्ब ४६ करोड रुपैयाँको भएको छ । चार महिनामा ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो । गत वर्ष यो अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको थियो । आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको छ ।
नेपालबाट निर्यात हुने वस्तुमा पाम आयल र भटमासको तेलको हिस्सा सबैभन्दा बढी छ । विभागका अनुसार मुलुकबाट तरकारीजन्य उत्पादनको निर्यात भने ३८ करोड रुपैयाँको रहेको छ । चिया र कफी ३ अर्ब ८१ करोडको आयात भएकामा ३ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ ।
सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतमा हुने गर्छ । चार महिनाको अवधिमा भारतबाट ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग ३ खर्ब १९ अर्ब रुपैयाँको छ ।
यस्तै चार महिनामा दोस्रो छिमेकी मुलुक चीनबाट भने नेपालले ९४ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात गरेको छ भने ३१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । अमेरिकाबाट ९ अर्ब ९१ करोड रुपैयाँको वस्तु आयात गरेकोमा ६ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले १ सय ३८ मुलुकसँग वैदेशिक व्यापार गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्