पुँजीगत खर्च गर्न नयाँ विकल्प खोज्नुपर्ने हुन सक्छ «

पुँजीगत खर्च गर्न नयाँ विकल्प खोज्नुपर्ने हुन सक्छ

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्ने विकल्प खोज्नुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको मन्त्रालयस्तरीय राष्ट्रिय समस्या समाधान समिति (एमडेक) को बैठकमा उनले हालसम्मको खर्च सन्तुष्टि गर्न लायक नभएको भन्दै यस्तै अवस्था रहे खर्च गर्नलाई नयाँ उपाय अपनाउनुपर्ने बताएका हुन् । “यो तरिकाले पुँजीगत खर्च हुँदैन । एक महिना हेरौं, भएन भने नयाँ तरिका अपनाउनुपर्छ । खर्च बढाउनमा सबैले तदारुकता देखाउँ,” उनले भने । चालु आर्थिक वर्षमा मंगलबारसम्म ५ प्रतिशत अर्थात् झण्डै २२ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च भएको छ । तर, सरकारले भने हरेक महिना १० प्रतिशतका दरले पुँजीगत बजेट खर्च गर्ने बताएको थियो । मन्त्रालयगत रुपमा आयोजनाहरुको प्रगति सुस्ताउँदै जाँदा त्यसको असर पुँजीगत खर्चमा देखिएको छ । ठोस रुपमा आयोजनाहरुको अनुगमन नहुँदा के सुधार गर्ने भन्नेमा नै अलमल परिएको उनले बताए । “ठोस रुपमा अनुगमन नै भएको छैन । अनुगमन गरेर ठोस निर्णय नआएसम्म सुधार हुन सक्दैन,” उनले भने । मन्त्री शर्माले व्यापार घाटाको विषयमा बोल्दै आयात घटाउने ठाउँहरु प्रशस्त भए पनि नघटेको जिकिर गरे । आयात यसरी नै बढ्दै गए बल नै प्रयोग गर्नुपर्ने हुन सक्ने उनले बताए । बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका विषयमा गलत प्रचार भइरहेको बताए । “अर्थतन्त्र लयमा गयो भन्नु भन्दा पनि खत्तम भयो भनेर बजारमा अर्थतन्त्र र बजेटका विषयमा गलत प्रचार भइरहेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको छ,” उनले भने । रेमिट्यान्स घटिरहेको विषयमा अर्थसचिव मरासिनीले गैरकानुनी हुन्डी कारोबारलाई रोक्नुपर्ने बताए । मरासिनीले भारतसँगको व्यापार घाटा बढेको भन्दै रसुवागढी नाकाको बाटो विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल बैंकिङलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्