उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरू आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।
उनीहरू उत्तर कोरियाको संगीतसम्बन्धी ब्यान्डका अधिकारीहरू हुन् । फेब्रुअरीमा हुन लागेको सो खेलकुदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिन उनीहरू त्यहाँ जान लागेको बताइएको छ ।
उत्तर कोरियाली संगीतकर्मी महिला हियोन सङ उलको नेतृत्वमा शनिबार एक दर्जनभन्दा बढी महिला दक्षिण कोरिया जाने तयारीमा छन् ।
उनीहरूले उक्त खेलकुदको समयमा पश्चिमाहरूको जस्तै संगीत देखाउने बताइएको छ । यसका लागि उनीहरूले उत्तर कोरियामै लामो समयदेखि तयारी गरिरहेका थिए ।
चार वर्ष पहिले उत्तर कोरियाले कुनै पनि महिला अधिकारीले उत्तर कोरिया सरकारको अनुमतिबिना दक्षिण कोरिया भ्रमणमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
आगामी फेबु्रअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारीहरू पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।
उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने भएको बताइएको छ । उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने र त्यसमा खेलाडीलाई हौसला प्रदान गर्ने समूह (हौसाउने व्यक्ति) पनि त्यहाँ जान लागेको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाले यस खेलकुदमा उत्तरले बढीभन्दा बढी खेलाडी र अधिकारी पठाओस्, जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस् भन्ने आग्रह गरेको थियो ।
त्यति मात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकुदमा एउटै अथवा संयुक्त झन्डामा सँगसँगै मार्च गर्न सहमति जनाएको पनि समाचार आएको छ ।
त्यसैले पनि उक्त खेलकुदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रूपमा लिनुपर्नेमा विश्वका नेताहरूले नै आग्रह गरेका छन् ।