मनकामना केवलकार २४ वर्षमा प्रवेश «

मनकामना केवलकार २४ वर्षमा प्रवेश

चितवन को–ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिको मनकामना केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा भएको छ ।
यससँगै हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको कम्पनीले जनाएको छ । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुने हुँदै गएपछि यसलाई स्तरोन्नती गर्न लागिएको बताइएको छ । साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नती गर्ने जनाएको छ ।
यही चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले जानकारी दिए । स्तरोन्नतीको काम तीन चरणमा गर्न लागिएको छ । कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलव्हिल लगायत उपकरण भने साविककै रहनेछ । यो सबै स्तरोन्नती सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।
२०५५ साल मंसिर ८ बाट सञ्चालनमा आएको मनकामना केबलकारले त्यसयता हालसम्ममा एक करोड ६० लाख यात्रु र भक्तजनलाई सेवा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्