नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन तथा बीटूबी एक्सचेन्ज कार्यक्रम «

नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन तथा बीटूबी एक्सचेन्ज कार्यक्रम


पाटा नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा यही १६ देखि २१ नोभेम्बरसम्म ‘नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।
पाटाको नेपाल र बंगलादेश च्याप्टरहरु बीचको यो संयुक्त सहकार्यमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थानका लागि आवस्यक पहलको रूपमा दुई छिमेकी राष्ट्रहरू बीचको आन्तरिक र बाह्य पर्यटनलाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काको गन्तव्यहरू प्रवद्र्धन गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
पाटा नेपालले आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, २ सञ्चारकर्मी र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका २ विद्यार्थीसहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत १७ देखि १९ नोभेम्बरसम्म बंगलादेशी प्रतिनिधिहरूका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमणका क्रममा १८ नोभेम्बरका दिन होटल बाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवा प्रदायकहरुको सहभागितासहित ‘पर्यटन नेटवर्किङ र अन्तरक्रिया सत्र’ समेत आयोजना गरिएको थियो ।
पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल ‘क्षेत्रीय यात्रा’ लाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सन्दर्भमा पर्यटकहरु र गन्तव्य व्यवस्थापन संस्थाहरू वा सेवा प्रदायकका लागिसमेत सबैभन्दा उपयुक्त बाटो भएको औंल्याए । उनले लामो दूरीको यात्रा रिकभर हुन समय लाग्ने भएकाले सडक वा छोटो दूरीको उडानबाट पुग्न सकिने नजिकका गन्तव्यलाई पर्यटन पुनर्सुचारू एवं पुनरुत्थान गर्न बढी अवसर रहेको बताउँदै नेपाल–बंगलादेश १ घण्टाभन्दा कम उडान समयले नजिक भएको अवस्थामा यस सहकार्यमार्फत दुई देशबीचको पर्यटनको व्यावसायिक सम्भावनालाई सुदृढ गर्न नयाँ मार्गनिर्देशन हुने बताए ।
पाटा बंगलादेशका अध्यक्ष शहीद हमिदले बंगलादेशी यात्रुलाई आकर्षित गर्न नेपालमा धेरै पर्यटन उत्पादन तथा सेवाहरू रहेको बताए । उनले महामारी अघि वार्षिक २६ हजार बंगलादेशीलाई नेपालले स्वागत गर्ने गरेको र यसलाई प्रभावकारी प्रवद्र्धन र मार्केटिङ पहलबाट दोब्बर सहज रुपमा भित्र्याउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्