आन्तरिक पर्यटन बढ्दो क्रममा

देशको आर्थिक विकासमा ठूलो योगदान पर्यटन क्षेत्रको पनि रहेको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा विदेशी पर्यटकहरू आफ्नो बहुमूल्य समय अनि मुद्रा खर्च गरेर नेपाल भ्रमणका लागि भनेर आउने गछ्न् । प्राकृतिक, सांस्कृतिक र भौगोलिक हिसाबले अत्यन्तै उर्वर र फराकिलो सम्भावना अनि अनेकौं अवसर बोकेको यो क्षेत्रको योजनाबद्ध तरिकाले प्रचारप्रसार अनि प्रवद्र्धन गर्न सकियो भने यस क्षेत्रले देश विकासमा ठूलो टेवा पु-याउन सक्नेछ । तर, विगतका वर्षदेखि कोरोना संक्रमणको कारणले गर्दा अहिले पर्यटन व्यवसाय प्रायः ठप्पजस्तो भएको छ । संक्रमणदरमा कमी आएसँगै अब पर्यटन क्षेत्रले पनि गति लिन्छ कि भन्ने आशा रहेको छ । तर, अझै पनि कतिपय देशहरू कोरोनाका कारण प्रतिबन्धित छन् । तर, खुसीको कुरा के छ भन्दा कोरोनाका कारण थुप्रै समय घरमा थुनिएर बस्नुपरेकाले अहिले कोरोना संक्रमणदरमा कमी आएसँगै आन्तरिक पर्यटन भने ह्वात्तै बढेको छ ।
दसैँतिहारमा अझै बढी मात्रामा आन्तरिक पर्यटकहरू बढेका छन्, किनकि यस्तो महान् चाडमा कार्यस्थलमा लामो बिदा लिन समस्या नहुने र मौसम पनि अनुकूल हुनाले मानिसहरू त्यही मौका छोपी पारिवारिक घुमघाम गर्ने गर्छन् । दसैँतिहारजस्ता चाडपर्वका बेला देशका विभिन्न क्षेत्रमा विगत केही वर्षयता आन्तरिक पर्यटकहरूको संख्या निकै बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । केही वर्षअघिसम्म चाडबाडका बेला धार्मिक स्थलहरू भीड देखिने गरेकोमा अहिले भने विभिन्न हिमाली र पहाडी क्षेत्रका पर्यटकीय स्थलमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन थालेको छ । अझै भन्नुपर्दा अहिले घुमफिर गर्ने प्रवृत्तिजस्तै बनिसकेको छ । अहिले मानिसहरू शनिबार तथा बिदा हुनासाथ घुमफिर गर्न निस्किहाल्ने गर्छन् । यति मात्र हैन, घुमफिरको क्रममा उक्त स्थानको रमणीय तथा तीतामीठा अनुभव र तस्बिरहरू खिचेर सामाजिक सन्जालमा राख्ने प्रचलनले पनि आन्तरिक पर्यटकहरू बढ्दो क्रममा छन् । यतिबेला सामाजिक सञ्जालजस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब भ्लगहरूमार्फत मानिसहरूले भिडियो तथा फोटो सेयर गर्नाले मानिसहरू घुमफिरप्रति अझै बढी आकर्षित भएका छन् ।
अहिलेको समय हिँडडुल तथा पदमार्गी गर्नका लागि उपयुक्त समय हो । त्यसैले गर्दा जाडो मौसमलाई पर्यटनको बेमौसम भन्ने परम्परा तोडिँदै छ । नेपालीहरू पनि जाडोमा आफ्नो देशकै अनेकौं गन्तव्यमा पुग्ने गरेका छन् । नेपालको आन्तरिक पर्यटन पहिले धार्मिक स्थलहरूमा मात्र केन्द्रित थियो, तर अहिले मौसमअनुसार गन्तव्य छनोट गरेर घुम्न निस्कनेहरूको संख्या धेरै नभए पनि बढ्दो क्रममा छ ।
यो समयमा हुने पर्यटन मेला तथा गतिविधिले समेत पर्यटकीय सम्भावनालाई बढाएका छ ।
पर्यटकहरूका लागि सेवाको विशिष्टता तथा गुणस्तर वृद्धिसँगै प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने एवं साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट पर्यटन एवं पर्यटकीय गतिविधि फराकिलो हुँदै गएको छ । जाडो समयमा दिन छोटो हुने र व्यापार व्यवसाय सुस्त हुने हुनाले यतिबेला कामको चाप कम हुन्छ र घुम्ने फुर्सद मिल्छ । यतिबेला विद्यालय तथा क्याम्पसहरूसमेत बन्द हुने हुनाले सबै उमेर समूहका व्यक्तिहरू घुमफिर गर्ने गर्छन् । कतिपय संस्थामा कार्यरत कर्मचारीलाई ‘पे लिभ’ को समेत व्यवस्था भएकाले सपरिवार घुम्न जान जाडो मौसमले प्राथमिकता पाउँछ ।
युरोप तथा अमेरिकातिर यो समय अत्यन्त जाडो हुने, हिउँले सारा धरती नै सेताम्मे हुने, महिनौं घाम नदेखिने हुनाले जीवन कष्टकर हुन्छ । त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपालीहरू पनि जाडो छल्न नेपाल आउँछन् । त्यसमाथि नेपालमा यस्ता मनमोहक झरनाहरू, हिमाल, ताल, मठमन्दिर अनि रमणीय स्थलहरूको तस्बिरहरू देख्दा स्वयम् म आफूलाई नै पदयात्रा तथा घुमफिरका लागि जान मन लाग्छ । पोखरा, बर्दिया, चितवन, मनाङ, मुस्ताङ, रारा ताल, फेवा ताल, लमजुङ, घान्द्रुक, तिलिचोजस्ता विभिन्न अन्य ठाउँहरूको सुन्दरता देखेर जोकोही पनि मनमोहित हुने गर्छन् ।