‘वार रुम’ को देखिएन प्रभावकारिता «

‘वार रुम’ को देखिएन प्रभावकारिता

ठूला आयोजना कार्यान्वयन तथा अनुगमन गर्न सरकारले ‘वार रुम’को स्थापना गरे पनि आयोजना प्रगतिमा भने कुनै सुधार आएको छैन । केपी शर्मा ओली सरकारले अन्तरमन्त्रालय विवादका कारण परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत ‘वार रुम’को सुरुवात गरेको थियो । तर, त्यसको प्रभावकारिता भने देखिएको छैन ।
‘वार रुम’ले कुनै पनि नतिजा नदिएकाले स्थापना गर्नुको कुनै औचित्य नभएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले बताए । “वार रुमले योजना कार्यान्वयनमा भइरहेका नीतिगत अप्ठ्याराहरुलाई खुलाउनुपथ्र्यो,” उनले भने, “कानुनी रुपमा कहाँ समस्या छन्, त्यसलाई सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई राखेर छलफल गरी बाटो खुलाउनुपथ्र्याे । तर, त्यस्तो देखिएन । योजना आयोगले गर्ने अनुगमन जस्तो मात्र भयो ।”
वरिष्ठ अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारीले पनि ‘वार रुम’को खासै प्रगति नदेखिएको बताए । “वार रुमले आयोजना कार्यान्वयनमा प्रभाव परेको भए त्यसको नतिजा देखिनुपथ्र्यो । आयोजनाको खर्च बढ्नुपथ्र्यो, आयोजनाहरु सम्पन्न भएको हुनुपथ्र्यो, नयाँ सम्झौताहरु भएर थप सम्झौता सुरु भएको हुनुपथ्र्यो । तर, त्यो देखिएन ।” समग्र बजेट कार्यान्वयनको अवस्थाबाट हेर्दा त्यसको कुनै प्रगति नदेखिएकाले समीक्षा गरेर सुधार गर्नुपर्ने उनको सुझाव छ ।
आयोजना अनुगमनकै लागि योजना आयोगमा विभिन्न निर्देशिका बनिरहेको अवस्थामा तिनै निर्देशिकालाई कार्यान्वयन गर्न सकिने अधिकारी बताउँछन् । “अनुगमन गर्ने पद्धति के हो, संस्थागत संरचना के हो, कसले गर्ने हो, कहिले गर्ने हो, नियमित गर्ने कि आकस्मिक ढंगले गर्ने, त्यसका मापदण्डहरु के हुन्, सूचकहरु के के हुन्, त्यसको प्रतिवेदन कसरी प्राप्त हुन्छ भन्ने सन्दर्भमा योजना आयोगमा विभिन्न निर्देशिकाहरु बनेका छन् । मूल्यांकन सम्बन्धी निर्देशिकाहरु पनि बनेका छन् । आवश्यक परे त्यसमा संशोधन गरेर लागु गर्न सकिन्छ,” उनले भने ।
प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता सन्तोषप्रसाद दाहालले ‘वार रुम’को प्रगति समीक्षा भइरहेको बताए । “हामी अहिले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा के कस्तो काम भयो भन्ने समीक्षा गरिरहेका छौं । केही दिनमा प्रगति रिपोर्ट तयार गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्