मन्त्री महासेठद्वारा महाकाली पुल निरीक्षण

कञ्चनपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरेका छन् । बुधबार बिहान कञ्चनपुर पुगेका मन्त्री महासेठले निरीक्षणपछि निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिएका छन् ।
भीमदत्तनगरपालिका–११, १२ र १३ को स्थानीयले पहुँच मार्ग निर्माणका क्रममा ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीलाई मुआब्जा तथा क्षतिपूर्ति दिन मन्त्रीसमक्ष माग गरेका छन् । मन्त्री महासेठले ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयलाई सरकारले उचित क्षतिपूर्ति दिने आश्वासन दिए । उनले भने, “तपाईंहरू ढुक्क हुनुस् मुआब्जाको विषय मन्त्रिपरिषद्मा पेस गरिसकेका छौं, विकास निर्माणका काममा तपाईंहरूको साथ चाहिन्छ ।”
उनले पुर्जा नभएका वर्षौदेखि बस्दै आएका स्थानीयलाई पनि मुआब्जा दिने नीति बनाउन मन्त्रिपरिषद्मा पेश भइसकेको बताए । २०२२ सालदेखि महाकालीको तटीय क्षेत्रमा ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन । पहुँच मार्गमा पर्ने ऐलानी जग्गा र घरको क्षतिपूर्तिको विषय नटुंगिँदा सडक निर्माणको काममा ढिलाइ हुदैं आएको निर्माण कम्पनीले जनाएको छ ।