सेयर बजारमा उतारचढाव «

सेयर बजारमा उतारचढाव


चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिना अवधिमा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ ।
आर्थिक वर्षको सुरुवातदेखि सेयर बजारमा निकै ठूलो उचार चढाव आइरहेको छ । धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो । उक्त काण्डबाट सेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले सेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुँदै आएको छ । तर, विविध कारणले बजार प्रभावित भएपनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।
पछिल्लो एक वर्षदेखि नेपाली सेयर बजारमा लगानी कर्ताको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता बढ्दै जाँदा सेयर बजारले नयाँ रेकर्डसमेत राख्न सफल भएको छ । तर, चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४ करोडदेखि १२ करोड सीमा तोकेसँगै सेयर बजार ओरालो लागिरहेको छ । चार महिनादेखि सेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक देखिनु पँुजीबजारका लागि राम्रो पक्ष हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जामा लगाएको सीमामा लचकता अपनाएमा पुनः सेयर बजार गति लिने अपेक्षा रहेको छ । त्यस्तै, पछिल्लो एक साताको सेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पतिमासमेत वृद्धि भएको छ । सेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।
आइतबारदेखि बिहीबार (२८ कात्तिकदेखि २ मंसिर) सम्म भएको सेयर कारोबारमा आइतबार २ हजार ६८८.९२ अंक रहेकामा सातको अन्तिम दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो । सातामा ५ दिनको सेयर कारोबारमा ३ दिन नेप्से बढ्दा बिहीबार भने ३२.३९ अंकले गिरावट आएको थियो ।
आइतबारको तुलनामा बिहीबारसम्म आइपुग्दा लगानीकर्ताको सम्पति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ । आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको नेप्से बजार पुँजीकरण बिहीबारसम्ममा ३८ अर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । तर, बिहीबार बजार दोहोरो अंकले गिरावट हुँदा बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजार पुँजीकरण घटेको थियो ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेप्सेमा ३ अर्ब ५६ करोड बराबरको सर्वसाधारणका लागि जारी गरीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचिकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ सेयर (डिबेन्चर) थपिएको छ ।
उक्त प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस सेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको छ । असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन् । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् ।
उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत कम्पनी ४१, ४ व्यापारिक संस्था, पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूहका छन् । गत आर्थिक वर्षको सोही अवधिमा दुई सय ९ वटा मात्रै कम्पनीहरू सूचीकृत थिए । सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको पुँजीकरणको बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ । त्यस्तै जलविद्युतको ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ७.६ प्रतिशत रहेको पुगेको छ । चालू आर्थिक वर्षको असोज मसान्तमा नेप्से परिसूचक २ हजार ६५७.० पुगेको छ। तर, अघिल्लो वर्षको असोज मसान्तमा नेप्से १ हजार ५६२.५ मात्रै थियो ।
गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँ मात्रै रहेको थियो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण सेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । आर्थिक वर्ष २०७७/०७८ पुँजी बजारका लागि इतिहासमा सबैभन्दा सुखद् रहेको थियो । चार वर्षअघि १ हजार ८८१ को उच्च परिसूचक पार गर्दै नेप्से परिसूचकले ३२२५.८३ विन्दुसम्म पुग्न सफल भएको थियो ।

पछिल्लो तीन महिनामा नेप्सेमा सूचिकृत भएका नयाँ आइपीओ
१.युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड–२ करोड १५ लाख कित्ता आइपीओ ।
२.जीवन विकास लद्युवित्त वित्तीय संस्था लिमिटेड–६० लाख ६४ हजार एक सय कित्ता आइपीओ ।
३.मनकामना स्मार्ट लद्युवित्त वित्तीय संस्था लिमिटेट–१२ लाख ११ हजार ५ सय कित्ता आइपीओ ।
साउन महिनामा तीन नयाँ आइपीओ सहित २१ कम्पनीको बोनस सेयर बापत सेयर सूचिकृत गरेका छन् ।
४. सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड–कम्पनीले ६० करोड रूपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर (आईपीओ) ।
५. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड–७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत ।
६.मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड– ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ सूचिकृत ।

प्रतिक्रिया दिनुहोस्