सुकिलुम्बा विमानस्थलको परीक्षण उडान अझै अनिश्चित «

सुकिलुम्बा विमानस्थलको परीक्षण उडान अझै अनिश्चित

गत वर्ष नै धावन मार्गमा कालोपत्र निर्माण सम्पन्न भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडानको कार्य अझै अनिश्चित भएको छ ।
विमानस्थल कालोपत्र भएसँगै विमानस्थलमा परीक्षण उडान गर्ने कार्यक्रम रहेपनि हुन सकिरहेको छैन । अघिल्लो ओली नेतृत्वको सरकारले बजेटमा समेत इलाम लगायतका विमानस्थलमा परीक्षण उडान गरिने उल्लेख भएको थियो । कोरोना महामारी र अन्य प्राविधिक कारणले परीक्षण उडान गर्न नसकिएको विमानस्थल आयोजना प्रमखु विनायक भट्टराईले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले भने गएको बजेटमा त्यो उल्लेख गरेका थिएनन् ।
खासमा विमानस्थलमा धावनर्माको ठेक्का बन्दोबस्तीसँगै पुन परीक्षण उडान गर्नुपर्ने हुन्छ । प्राविधिक रुपमा विमानस्थलको परीक्षण गर्न पनि यो बाध्यकारी जस्तै हो । तर धावनमार्गमा कालोपत्र भएको महिनौ बितेपनि परीक्षण उडानको मिति तय हुन सकेको छैन । यसअघि २०७५ जेठमा विमानस्थलको धावनमार्ग विस्तार गरी परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएपछि थप निर्माणले गति लिएको थियो ।
सुकिलुम्बा विमानस्थलमा धावनमार्ग, पार्किङ र अस्थायी टावरको निर्माण भएपनि टर्मिनल, सुरक्षा बेस र तारबार लगाउने कार्य भने भएको छैन । यस्तै एक्सेस रोड निर्माण कार्य पनि अनिश्चित भएको छ ।
आयोजना प्रमुख भट्टराईले नागरिक उड्डयन प्राधिकरणमा विमानस्थलको थप निर्माणका लागि र तारबार निर्माणका लागि प्रस्ताव पठाएको भएपनि हालसम्म बजेट नछुट्टिएको बताए । “चालु वर्षको शुरुमा नै तारबार गर्ने भनेर प्रस्ताव गरिएको थियो तर के कारणले हो त्यसको लागि बजेटको व्यवस्था भएको छैन” उनले भने । विमानस्थलमा हाललाई अस्थायी टावरमात्र बनाइएको छ । स्थायी रुपमासमेत यसको व्यवस्थापन जरुरी देखिएको छ । विमानस्थल वरपर तारबार नहुँदा यहाँको प्राकृतिक सम्पदा दोहन भइरहेको पाइएको छ । विमानस्थलमा रहेको ढुंगा र गिटि निकासी भइरहेको छ ।
इलाम जिल्लाकै गौरव मानिएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल २०५८ सालमा सर्भेकार्य भई २०६८ चैतमा निर्माण सुरु गरिएको थियो । दशक अघिबाट निर्माण सुरु भएर पनि हालसम्म विमानस्थल सञ्चालनका लागि थप पहल भएको छैन । राजनीतिक रुपमा विमानस्थलको जस लिनका लागि होडबाजी चलेपछि यसको निर्माणले कहिलेकाँही गति विराएको छ । केशव थापा राज्य मन्त्री भएका बेला सर्भे सुरु भएको विमानस्थल पछि झलनाथ खनाल प्रधानमन्त्री भएको अवस्थामा शिलान्यास गरिएको थियो ।
तत्कालिन जिल्ला विकास समितिको अगुवाइमा प्रस्तावित विमानस्थलमा घरजग्गा भएकाहरुलाई मुआब्जा दिन पहल भएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला इलाम नगरपालिकाको अभिनन्दन कार्यक्रममा प्रत्येक जिल्लामा विमानस्थल निर्माण गर्नु कति उपयुक्त छ भनेर टिप्पणी गरेका थिए । तर पनि उनकै पालामा विमानस्थलको धावनमार्ग कालोपत्र निर्माणका लागि ठेक्का सम्झौता भयो । योगेश भट्टराई पर्यटन मन्त्री भएपछि निर्माणले गति लियो । कोरोना महामारीको अवरोधका बीच ठेक्का अन्तर्गतको निर्माण कार्य सम्पन्न भएपनि अन्य पूर्वाधारका काम अगाडि बढ्न सकेको छैन । आठ करोड ४० लाखमा निर्माणको ठेक्का पाएको आशिस आशिर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कँक्रिटसहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको थियो ।
यसअघि बर्खामा विमानस्थलबाट निस्किने भललाई व्यवस्थापन गर्न माइखोलासम्म नाली तथा ढल निर्माण कार्य भएको थियो । विमानस्थल निर्माणका लागि हालसम्म करिव २६ करोड रुपैयाँ खर्च भएको छ । यसबाहेक विमानस्थल निर्माणका लागि जग्गा खरिदमा थप खर्च भएको थियो ।
विमानस्थलमा थप पूर्वाधार निर्माणका लागि पहल गर्न स्थानीयको माग छ । विमानस्थल आयोजनाले थप पूर्वाधारका लागि करिव १४ करोड बजेट लाग्ने अनुमान गरेको छ । विमानस्थलसम्म पुग्नका लागि पहुँच मार्ग बन्न सकेको छैन । इलाम नगरपालिकाले पहुँच मार्ग विस्तारको साटो त्यहाँ गेट बनाउने कार्य सम्पन्न गरेको छ । यस्तै विमानस्थलको पहँचमार्गमा राष्ट्रिय विभूति फाल्गुनन्दको शालिक निर्माण गरेको छ ।
यो विमानस्थल सञ्चालनमा आएपछि इलाम जिल्लालाई मात्र नभएर पहाडी जिल्ला पाँचथर, तेह्थुमलगायत भारतको सिक्कम, दार्जिलिङ लगायतका नागरिकलाई समेत देशको राजधानी जोड्न सहज हुने थियो । तर बेला बेलामा काम रोकिँदै गरेकाले समस्या भइरहेको छ । चुनाव अघि यहाँका नेताहरुले आफूले जिते काम भएर पनि विमान उडाउने सपना देखाए पनि यो सपना विपनामा परिणत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्