अब सबैको ध्यान आर्थिक समृद्धिमा जानुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले अब आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएकी छन् ।
पञ्चायतकालमा आफैंले पढाएको मोरङ बेलबारीस्थित जनता आभारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक समृद्धिमा एकजुट हुन सबैलाई आग्रह गरिन् । “संविधान कार्यान्वयन भएसँगै राजनीतिक क्रान्ति पूरा भएको छ,” राष्ट्रपति भण्डारीले थपिन्, “अब सबै मिलेर मुलुकमा आर्थिक क्रान्ति गर्नु आवश्यक छ ।” तीनै तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाले अब मुलुकले आर्थिक विकासमा गति लिने उनको विश्वास थियो ।
राष्ट्रपति भण्डारीले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिइन् । “विश्वबजारमा बिक्री हुने जनशक्ति उत्पादनमा सबैको ध्यान जानुपर्छ,” उनले भनिन्, “विद्यालय तहदेखि नै प्राविधिक शिक्षा लागू गरेमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्नेछ ।”
जनताको राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकाले अबका दिन दिगो विकास र आर्थिक समृद्धिमा राजनीति केन्द्रित हुनुपर्नेमा भण्डारीले जोड दिइन् । जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन र त्यसले पारेको असरलाई न्यूनीकरण गर्नका लागि समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत चुरे विनाशलाई रोक्न नसके तराईको उर्बर भूमिमा क्षति पुग्ने भएकाले सबै सचेत रहनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव थियो । राष्ट्रपति भण्डारीले जनता आधारभूत विद्यालयमा ०४३ साल माघ २ गतेदेखि ०४६ साल फागुन २४ गतेसम्म शिक्षिकाका रुपमा काम गरेकी थिइन् । स्वर्ण महोत्सवका अवसरका उनले विद्यालयको स्वर्ण स्मारकसमेत अनावरण गरिन् ।