एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड «

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण क्षेत्रमा सेवाबाट बन्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड२०२१ जित्न सफल भएको छ ।
कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार हस्तान्तरण गरिएको हो । वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममा भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजीओ) विधा अन्तर्गत जितेको हो ।
त्यस्तै कात्तिक २६ गते ढाकामै आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनी एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्यांकामा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायलाई उनीहरुको घरदैलोमा स्वास्थ्य सेवाप्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रमा लागु गरीएको छ । यस कार्यक्रमअन्तर्गत समुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।
टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा सञ्चालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ । टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्