सुर्खेत विमानस्थलमा २५ दिन उडान अवरुद्ध हुने «

सुर्खेत विमानस्थलमा २५ दिन उडान अवरुद्ध हुने

कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलमा २५ दिन उडान अवरुद्ध हुने भएको छ ।
धावन मार्ग मर्मत सम्भार गर्नका लागि नियमित उडान बन्द हुने भएको हो । मंसिर १० गतेदेखि पुस पाँच गतेसम्म हवाई उडान बन्द हुने सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख सोहनराज जोशीले जानकारी दिए ।
“विमानस्थलको धावनमार्गमा ओभर–ले गर्नुपर्ने भएकाले नियमित उडान बन्द गर्दैछौं,” प्रमुख जोशीले भने, “एउटामात्र धावन मार्ग भएकाले उडान नै बन्द गरेर मर्मत गर्नुपरेको हो ।” हाल सुर्खेतबाट काठमाडौं र हुम्लामा नियमित उडान भइरहेको थियो भने अन्य कर्णालीका हिमाली जिल्लामा फाट्टफुट्ट उडान हुँदै आएका थिए ।
सुर्खेत–काठमाडौं दैनिक एउटामात्र उडान बुद्ध एरले गर्दै आएको थियो । विमानस्थल मर्मत सम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगन्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग मर्मत सम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाई यात्रा थप सहजताका लागि नेपालगन्जबाट थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्