नारी सम्मानको प्रचार गर्न १०८ कन्यापूजा «

नारी सम्मानको प्रचार गर्न १०८ कन्यापूजा

काठमाडौंको वसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको इनर ह्विल क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र इनर ह्विल क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रूपमा कन्यापूजाको आयोजना गरेको हो ।
“कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रूपमा पुज्ने चलन छ । त्यसैले पनि नारीलाई सम्मान भावले पूजा गर्ने हाम्रो चलनलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न कन्यापूजाको आयोजना गरेका छौं,” इनर ह्विल क्लब अफ कीर्तिपुरकी प्रेसिडेन्ट सुशीला मानन्धरले बताइन् ।
सुसंस्कृत संस्कार, संस्कृति र रीतिथितिले समुदायबीचको सदासयता, आत्मीयता र भातृत्वलाई जोड्ने गरेको छ ।
विभिन्न विचार र संस्कार अंगालेका तह र तप्कालाई सामाजिक तथा सांस्कृतिक मूल्यको आधारले जोड्ने सेतुलाई प्रचार गर्नु सकारात्मक पक्ष मानिन्छ । वैदिक मान्यतामा आधारित काठमाडौंको कुमारीपूजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।
मध्यकालीन नेपालका अन्तिम मल्ल राजालाई सपनामा कुमारीले दर्शनभेट दिएको आधारले नारी सम्मानका लागि कुमारी प्रथाको सुरुवात गरेको बताइन्छ ।
“पञ्चकन्यालाई हिन्दु धर्मावलम्बीहरूले अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरीको रूपमा स्वीकार गरिएको छ,” हिन्दुधर्मका अध्येता सुशील राजोपाध्याय बताउँछन् । रजश्वला हुनुपूर्वका कुमारी केटी अर्थात् कन्यालाई १०८ संख्या बनाएर पूजा गर्नुको अर्थ संख्यामा पूर्णता दिइएको राजोपाध्यायको दाबी छ । उच्च सम्मान र आदरार्थीभाव जनाउने गुरुहरूको विशेषणमा श्रीश्रीश्री १०८ लेख्ने चलन र रुद्राक्ष मालाको संख्या पनि उही बनाउनुको अर्थ संख्यालाई पूर्णता दिइएको उनको तर्क छ ।
हिन्दु र बौद्ध धर्म परम्परामा कुमारी वा कन्याले देश र जनतालाई रक्षा गर्ने विश्वास गरिन्छ । वैरभाव, शत्रुता र कपट विचारबाट विमुख हुने कन्यालाई पूर्णता दिएर नारीलाई सम्मान गर्नु हाम्रो परम्परा हो । त्यसैले पनि कन्यापूजा पश्चात् भगवान रूपी कन्याबाट आशीर्वाद थाप्ने चलन छ । शुभकार्य र सुखद सुरुवातको कामनाका लागि पञ्चकन्यालाई अघि सारिन्छ ।

प्रतिक्रिया दिनुहोस्