दलहरूको निर्वाचनले अर्थतन्त्र चलायमान हुँदै «

दलहरूको निर्वाचनले अर्थतन्त्र चलायमान हुँदै


कोभिड–१९ ले थलापरेको आर्थिक क्षेत्र प्रमुख राजनीतिक दलहरूको पार्टीभित्रको निर्वाचनले चलायमान बनाउन थालेको छ ।
राजनीतिक दलहरूको निर्वाचनसँंगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको आर्थिक क्षेत्रका जानकार बताउँछन् । अहिले प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म निर्वाचन सुरु भएको छ । प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि चलायमान हुन पुगेको हो । राजनीतिक दलहरूका गतिविधि वडा/बस्ती हुँदै क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहमा अगाडि बढिरहेको छ ।
यही महिना प्रमुख राजनीतिक दलहरूको महाधिवेशन हुने भएकाले पनि राजधानी, प्रदेश मुकाममा वा जिल्ला मुकाममा केन्द्रित रहेका नेता/कार्यकर्ता गाउँगाउँमा पुगिरहेका छन् । दलहरूले तिनका हरेक एकाइमा नयाँ नेतृत्व चयन गर्दैछन् । आसन्न निर्वाचनअघि भइरहेका महाधिवेशनले सम्भवतः यही वर्षको अन्त्यमा हुने स्थानीय तह निर्वाचनदेखि आगामी वर्ष हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमासमेत दलीय नेतृत्व र भूमिकामा प्रभाव अवश्य नै पार्ने छ । महाधिवेशनले स्थानीय तहमा व्यापार–व्यवसाय देखि अधिवेशन गर्नका लागि चाहिने सामान्य चिज वस्तुको व्यापारदेखि महाधिवेशन आयोजनास्थलसम्म होटल, व्यवसायमा समेत प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित भएको देखिन्छ । होटल तथा लजहरू लिने, यातायातका साधनहरू लिने तथा अन्य आवश्यक चिज वस्तुको समेत व्यापार भइरहेको छ । यसर्थ राजनीतिक गतिविधिहरू शान्ति पूर्ण तवरले निरन्तर सकारात्मक दिशामा अघि बढ्ने हो, त्यसको प्रभाव व्यापार–व्यवसायमा पर्छ ।
जिल्लामा पनि दलहरूको निर्वाचनको प्रभावको देखिन थालेको छ । अहिले व्यावसाय क्षेत्रमा केही मात्रामा भए पनि चहल पहल वढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी बताउँछन् । प्रमुख दलहरूको निर्वाचनका लागि गाउँदेखि सहरसम्म नागरिकहरूको आवतआवत बढेकाले बजारमा चहल पहल बढेको उनको भनाइ छ ।
चहलपहल बढेसँंगै आर्थिक क्षेत्रमा समेत यसको प्रभाव पर्ने उनी बताउँछन् । “दलहरूको वडादेखि केन्द्रसम्मको निर्वाचनको प्रभाव केही मात्रामा भए पनि बजारमा देखिएको छ,” अध्यक्ष बुढाथोकीले भने । विशेषगरी होटल क्षेत्रमा दलहरूको निर्वाचनको प्रभाव परेको उनको भनाइ छ । होटेल क्षेत्रको व्यापार व्यवसाय वृद्धि भएको उनले बताए ।
दलहरुको चुनावले बजारमा चहलपहल वढाएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए । चहलपहल बढेसँंगै व्यापार व्यवसाय पनि बढेको उनको भनाइ छ । निर्वाचनले गर्दा करिब २० प्रतिशतसम्म व्यापार व्यवसायमा वृद्धि भएको उनले बताए । “निर्वाचनले बजारमा चहलपहल बढाउन सहयोग पु¥याएको पाइएको छ,” अध्यक्ष खनालले भने । कोभिडले प्रभाव पारेको क्षेत्रलाई चलायमान गराउने काम निर्वाचनले गरेको उनको भनाइ छ । निर्वाचनले कोभिडले वढी प्रभाव पारेको क्षेत्र होटेल तथा यातायात क्षेत्रमा थोरै भए पनि सहयोग पु¥याएको उनी बताउँछन् ।
प्रमुख दलहरूको निर्वाचनले होटेल क्षेत्रमा केही मात्रामा भए पनि चहलपहल बढेको दाङ फर्न भ्याली प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिए ।
कोभिडको संक्रमण कम भए पनि दलहरूको निर्वाचन सुरु हुनुभन्दा पहिले होटेलहरूमा चहलपहल बढन सकेको थिएन । अहिले प्रमुख राजनीतिक दलहरूको चुनावले गर्दा टाढाबाट आएका नागरिक होटलमा नेतासँंग भेटघाट गर्न, खाना खाने, बसोबास गर्ने गरेका छन् । जसले गर्दा होटलको व्यापार बढेको छ । कोभिडले धेरै प्रभाव पारेकोे होटल क्षेत्रलाई थोरै भए पनि चलायमान गराउन यसले सहयोग पु¥याउने उनको भनाइ छ । “भाडा तिर्नसमेत समस्या हुने गरेका होटललाई अहिले थोरै भए पनि राहत मिलेको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्